Butwal Today

मानव बेचबिखन रोकथाममा शुभ अवसर ग्रामको सक्रियता

एक वर्षमा भारतबाट ५५७ जनाको उद्धार
३ भाद्र २०८३, बुधबार
अ+
अ-

भैरहवा ।

मानव बेचबिखन तथा ओसारपसार रोकथाम, जोखिममा परेका व्यक्तिको उद्धार तथा पुनर्स्थापनाका क्षेत्रमा क्रियाशील शुभ अवसर ग्राम नेपाल, भैरहवाले एक वर्षको अवधिमा सीमा निगरानीदेखि उद्धार, पुनर्मिलन, मनोसामाजिक परामर्श र जीविकोपार्जन सहयोगसम्मका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाएको छ ।

संस्थाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदनअनुसार भारतबाट मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका वा प्रभावित ५५७ जनाको उद्धार गरिएको छ । त्यस्तै जोखिमयुक्त क्षेत्रबाट थप २० जनालाई स्वदेश फर्काउन सहजीकरण गरिएको छ ।

भारतसँग जोडिएको खुला सीमाका कारण मानव बेचबिखन तथा ओसारपसारको जोखिम उच्च रहेको रुपन्देहीमा संस्थाले सीमा निगरानीलाई प्राथमिकतामा राख्दै दुईवटा निगरानी केन्द्र सञ्चालन गरेको छ । ती केन्द्रमार्फत एक वर्षमा ७ हजार ९३२ जनासम्म पहुँच पुर्‍याइएको प्रतिवेदनमा उल्लेख छ । सम्भावित जोखिम पहिचान गरी ८६ वटा घटनामा हस्तक्षेप गर्दै सम्बन्धित व्यक्तिलाई सीमामै रोक्ने, परामर्श दिने वा सुरक्षित सेवातर्फ पठाउने काम गरिएको छ ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि नेपाल–भारतबीचको समन्वयलाई पनि संस्थाले आफ्नो कार्यक्रमको महत्वपूर्ण पक्षका रुपमा अघि बढाएको छ । उद्धार तथा स्वदेश फिर्ताको प्रक्रियालाई सहज बनाउन २२ वटा क्रस-बोर्डर बैठक तथा २४ वटा स्थलगत अवलोकन तथा एक्सपोजर भ्रमण सञ्चालन गरिएको प्रतिवेदनमा जनाइएको छ ।

संस्थाका अनुसार विभिन्न ९२ वटा स्थलगत हस्तक्षेपमार्फत कुल ४ हजार २२७ जनासम्म पहुँच पुर्‍याइएको छ । तीमध्ये १ हजार ४२१ पुरुष र २ हजार ८०६ महिला छन् । पहुँचमा आएका व्यक्तिमध्ये १८ वर्षमुनिका बालबालिकाको संख्या २ हजार ५३ अर्थात् ४८ दशमलव ५६ प्रतिशत रहेको छ । यसले बालबालिका तथा किशोरकिशोरी मानव बेचबिखन र ओसारपसारको उच्च जोखिममा रहेको तथ्यलाई समेत उजागर गरेको शुभ अवसर ग्राम नेपाल, भैरहवाका परियोजना संयोजक सत्य नारायण यादवले बताए ।

शुभ अवसर ग्रामले उद्धारलाई मात्र आफ्नो कामको अन्तिम बिन्दु नबनाई प्रभावित तथा जोखिममा परेका व्यक्तिको संरक्षण र पुनर्स्थापनालाई पनि प्राथमिकतामा राखेको यादवले जनाए ।

एक वर्षमा १५६ जना बालिका तथा महिलालाई सुरक्षित आवास प्रदान गरिएको छ । उद्धार तथा संरक्षणमा आएका व्यक्तिका लागि २८६ वटा मनोसामाजिक परामर्श सेसन सञ्चालन गरिएको छ भने ४४ जनालाई स्वास्थ्य तथा औषधोपचार सहयोग उपलब्ध गराइएको छ ।

त्यस्तै उद्धार गरिएका तथा प्रभावितमध्ये २१३ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ । आवश्यकताअनुसार ७६ जनालाई पुनर्प्रेषण तथा अनुगमन सेवा उपलब्ध गराइएको छ । सुरक्षित आवासमा रहेका व्यक्तिको मानसिक तथा सामाजिक पुनर्स्थापनाका लागि ५१ वटा आन्तरिक गृह क्रियाकलापसमेत सञ्चालन गरिएको संस्थाले जनाएको छ ।

संस्थाले पीडित तथा प्रभावितलाई दीर्घकालीन रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले सीप विकास र जीविकोपार्जनका कार्यक्रमसमेत सञ्चालन गरेको छ । प्रतिवेदनअनुसार १७ जनालाई सीपमूलक तथा व्यावसायिक तालिम, १६ जनालाई जीविकोपार्जन तथा व्यवसाय सञ्चालनमा सहयोग र नौ जनालाई शैक्षिक सहयोग प्रदान गरिएको छ । त्यस्तै १० जनालाई कानुनी सहायता उपलब्ध गराइएको छ ।

मानव बेचबिखन रोकथामका लागि उद्धारसँगै सम्भावित जोखिम न्यूनीकरण र समुदायमा सचेतना अभिवृद्धिलाई संस्थाले अर्को महत्वपूर्ण क्षेत्रका रुपमा अघि बढाएको छ ।

यस अवधिमा २४ वटा समुदाय तथा विद्यालयस्तरीय सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । बालबालिका तथा युवालाई जोखिमबारे जानकारी गराउन र उनीहरूलाई सामाजिक संरक्षणको अभियानमा सहभागी गराउने उद्देश्यले २८ वटा युवा तथा बाल क्लब सुदृढीकरण तथा परिचालनका कार्यक्रम सम्पन्न गरिएको छ ।

स्थानीय तह तथा समुदायमा मानव बेचबिखनविरुद्धको संरचना बलियो बनाउन २२ वटा संरक्षण समिति गठन, पुनर्जागरण तथा बैठक सञ्चालन गरिएको छ । यसैगरी होटल, यातायात क्षेत्र तथा सीमापारका सरोकारवालासँग अन्तर्क्रिया, कर्तव्यपालक निकायको क्षमता अभिवृद्धि, जिल्लास्तरीय सरोकारवालासँग तीनवटा पैरवी कार्यक्रम तथा नागरिक समाज संगठनको सुदृढीकरणका दुईवटा कार्यक्रम सञ्चालन गरिएको छ ।

स्थानीय तहमा नीति तथा कार्यक्रम निर्माण र समन्वयलाई प्रभावकारी बनाउन नगरस्तरीय आयोजना परामर्श समितिका तीनवटा बैठक तथा को एक द्वि(वार्षिक सरोकारवाला बैठकसमेत आयोजना गरिएको संस्थाले जनाएको छ ।

रुपन्देहीको बेलहिया नाकालगायत नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुने आवतजावतका कारण मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण चुनौतीपूर्ण बन्दै आएको छ । रोजगारी, शिक्षा, भ्रमण वा अन्य बहानामा सीमापार जाने व्यक्तिमध्ये कतिपय बेचबिखनको जोखिममा पर्ने भएकाले सीमा क्षेत्रमा निरन्तर निगरानी, सूचना आदानप्रदान र समन्वय आवश्यक रहेको यादवले बताए ।

उद्धारका क्रममा भारतीय समकक्षी निकायसँगको समन्वयले महत्वपूर्ण भूमिका खेलेको बताउदै यादवले विशेषगरी भारतमा रहेका पीडितको पहिचान, उद्धार, कागजात प्रमाणीकरण र नेपाल फिर्ताको प्रक्रियामा दुई देशका सरकारी तथा गैरसरकारी निकायबीचको सहकार्य प्रभावकारी देखिएको बताए ।

मानव बेचबिखनविरुद्धको अभियानमा उद्धार मात्र पर्याप्त नहुने र पीडितलाई सामाजिक तथा आर्थिक रुपमा पुनर्स्थापित गर्न चुनौती रहेको यादवको अनुभव छ ।

कार्यक्रम सञ्चालनका क्रममा धाकधम्की तथा दबाब आउने, पीडितलाई कानुनी सहायता उपलब्ध गराउन ढिलाइ हुने, भारतमा रहेका घटनाको प्रमाणीकरण तथा आवश्यक कागजात जुटाउन कठिनाइ हुने समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै परिवारसँग पुनर्मिलनका क्रममा पारिवारिक तथा सामाजिक समस्या आउने र पीडितलाई सीपमूलक तथा व्यावसायिक तालिम प्रदान गर्न पर्याप्त बजेटको अभाव हुने गरेको यादवको भनाइ छ ।

मानव बेचबिखन रोकथाममा काम गर्ने संस्थाका लागि आगामी दिनमा सीमा क्षेत्रमा सूचना तथा निगरानी प्रणाली थप प्रभावकारी बनाउने, नेपाल–भारत समन्वयलाई संस्थागत गर्ने, उद्धारपछि मनोसामाजिक तथा कानुनी सहयोगलाई निरन्तरता दिने र पीडितलाई आयआर्जनसँग जोड्ने कार्यक्रम विस्तार गर्नु आवश्यक देखिएको उनले औल्याए ।

शुभ अवसर ग्रामको एक वर्षको गतिविधिले मानव बेचबिखनविरुद्धको अभियानमा गैरसरकारी क्षेत्रले सीमा निगरानीदेखि उद्धार, संरक्षण, पुनर्मिलन, पुनर्स्थापना र समुदायस्तरीय सचेतनासम्म बहुआयामिक भूमिका निर्वाह गरिरहेको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?