Butwal Today

कतारमा सिर्जनाको निधनपछि दुई नाबालकलाई एनआरएनएको आर्थिक सहयोग

३ भाद्र २०८३, बुधबार
अ+
अ-

दोहा (कतार) । 

रोजगारीका सिलसिलामा कतार पुगेकी ललितपुरकी सिर्जना डङ्गोलको स्तन क्यान्सरका कारण निधन भएपछि उनका दुई नाबालक छोराको भविष्यलाई ध्यानमा राख्दै गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) कतारले २ लाख ११ हजार ३४० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

करिब १७ महिनाअघि कतारको एक निजी क्लिनिकमा काम गर्न पुगेकी सिर्जनाको गत जुलाई ७ मा दोहास्थित हमद अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

अभिभावक गुमाएका दुई नाबालकको हेरचाह तथा शिक्षादीक्षामा केही राहत पुगोस् भन्ने उद्देश्यले एनआरएनए (एनसीसी) कतारको पहलमा उक्त रकम सङ्कलन गरिएको हो । मङ्गलवार ललितपुरस्थित सिर्जनाको घरमै पुगेर एनआरएनए आईसीसी सचिव रमेश भट्ट, एनसीसी कतारका पूर्व सल्लाहकार बुद्धिप्रसाद भण्डारी र सचिव सुजन गुरुङले स्थानीयको रोहबरमा सिर्जनाका श्रीमान् दिनेश डङ्गोललाई रकम हस्तान्तरण गरेका हुन् ।

एनआरएनए एनसीसी कतारका उपाध्यक्ष तथा श्रमिक विभाग संयोजक सन्तोष पौडेलका अनुसार कतारमा रहेका विभिन्न नेपाली सङ्घ–संस्था, समाजसेवी तथा आम नेपाली समुदायको ऐक्यबद्धताबाट सहयोग रकम सङ्कलन गरिएको हो । परदेशमा ज्यान गुमाएकी एक आमाका नाबालक छोराहरूको भविष्य उज्यालो बनाउन हामीले यो पवित्र अभियान चलाएका हौँ,’ पौडेलले भने ।

एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले सिर्जनाको निधनले परिवारमा ठुलो क्षति पुगे पनि नेपाली समुदायले देखाएको आत्मीयता र सहयोगले परदेशमा रहेका नेपालीबिचको मानवीय एकता र भाइचाराको सन्देश दिएको बताए । उनले एनआरएनए एनसीसी कतार नेपाली श्रमिकको हकहित र सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता पनि व्यक्त गरे ।

सिर्जना बिरामी परेदेखि नै उनको उपचार, कानुनी तथा कागजी प्रक्रिया र शव स्वदेश पठाउनेसम्मका सम्पूर्ण कार्यमा एनआरएनए कतारले निरन्तर सहजीकरण गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?