© 2026
सल्यान । सल्यानको भेरी नदीमा जिपसहित खसेर एक सातादेखि बेपत्ता रहेका दुई जनामध्ये एक जनाको शव भेटिएको छ ।
दुर्घटनामा बेपत्ता रहेका गाडी चालक कुमाख गाउँपालिका वडा नं ५, सल्यान निवासी २३ वर्षीय हेमराज बुढाथोकीको शव बुधबार सुर्खेतको बराहताल गाउँपालिका, ४ स्थित भेरी नदी किनारमा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी दीपक पातलीका अनुसार नदी किनारमा फेला परेको शव हेमराज बुढाथोकीको भएको पुष्टि भएको छ । शव पोस्टमार्टमका लागि सुर्खेतस्थित अस्पतालमा लगिएको उनले बताए ।
गत साउन २७ गते दिउँसो करिब २ बजेको समयमा सल्यानको वनगाड कुपिण्डे नगरपालिका, १ अम्रास्थित छिन्चु–जाजरकोट सडकखण्डबाट बोलेरो जीप भेरी नदीमा खसेको थियो । बालुवासंग्राहीबाट सल्लीबजारतर्फ जाँदै गरेको लु १ ज ३०२२ नम्बरको जीप सडकबाट अनियन्त्रित भई भेरी नदीमा खसेको प्रहरीले जनाएको छ ।
जीपमा चार जना सवार थिए । दुर्घटनापछि दुई जना पौडिएर नदीबाट बाहिर निस्कँदै ज्यान जोगाउन सफल भएका थिए भने चालक हेमराज बुढाथोकी र गाडी धनी सिद्धकुमाख गाउँपालिका ४, सल्यान निवासी २३ वर्षीय भीमबहादुर राना बेपत्ता भएका थिए ।
दुर्घटना लगत्तै बेपत्ताको खोजीका लागि गोताखोरको टोली परिचालन गरिएको थियो । टोलीले लगातार तीन दिनसम्म भेरी नदीमा खोजी गरे पनि जीप र बेपत्ता व्यक्तिहरूको अवस्था पत्ता लगाउन सकेको थिएन ।
एक सातापछि हेमराजको शव सुर्खेततर्फ भेरी नदी किनारमा फेला परे पनि दुर्घटनामा बेपत्ता अर्का व्यक्ति भीमबहादुर र जीपको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।