© 2026
पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ सहलकोट भाङवारीका ७० वर्षीय लालबहादुर रानाले आफ्नो जीवनमा खेतीपातीका धेरै परिवर्तन देखेका छन् । तर बाल्यकालदेखि देख्दै र प्रयोग गर्दै आएको अन्न तथा तरकारीका रैथाने बीउ हराउँदै जाँदा उहाँलाई भने विकासभन्दा आफ्नै कृषि पहिचान गुमेको चिन्ता छ ।
तीन दशक अघिसम्म गाउँका बारीमा पाइने साना फल लाग्ने तिते करेला, पातलो बोक्राको स्थानीय टमाटर, जुनेलो, कालो सानो दाना भएको भट्ट, मकैमा लहरिने बोडी र ठूला फल लाग्ने काक्राका स्थानीय जात अहिले खोजेर पनि पाउन मुस्किल परेको उनी बताउँछन् ।
“हामीले सानैदेखि लगाउँदै आएका बीउ नै अहिले छैनन् । बीउसँगै पुरानो पुस्ताको पहिचान, खानपान र संस्कृतिसमेत हराउँदै गएको जस्तो लाग्छ,” रानाले भने ।
पाल्पामा धानका पनि थुप्रै स्थानीय जात प्रचलनमा थिए । कालो, रातो र झिनुवा धान विशेष अवसर तथा चाडपर्वमा प्रयोग गरिन्थ्यो । अनदी धानबाट भुटेर खट्टे तथा खाजा बनाउने चलन थियो । मन्सारो, हन्सराज र जन्नेलीजस्ता धानका जातसमेत अहिले गाउँबाट हराइसकेका छन् ।
स्थानीय मनबहादुर दर्लामीका अनुसार स्थानीय जातको तुलनामा छिटो उत्पादन हुने, कम पानीमा पनि फल्ने र उत्पादन बढी दिने वर्णशङ्कर बीउको प्रयोग बढेपछि पुराना जात विस्थापित भएका हुन् । उत्पादनमुखी आधुनिक खेतीको विस्तारसँगै स्थानीय बीउसँग जोडिएका परम्परागत खानपान र संस्कारसमेत कमजोर हुँदै गएको उनी बताउँछन् ।
कुनै समय खाद्यान्न उत्पादनमा आत्मनिर्भर रहेको पाल्पामा कोदो, फापर, जुनेलो र मकैजस्ता बालीको प्रयोग पनि व्यापक थियो । अहिले यीमध्ये कतिपय बालीको खेती र उपभोग दुवै घट्दै गएको छ ।
रैनादेवी छहरा गाउँपालिका–३ बल्डेङ्गढीका कृषक धर्मबहादुर कार्कीले एक दशक अघिसम्म वर्षमा तीन मुरीसम्म कोदो बिक्री गर्थे । अहिले उनले कोदो खेती नै छाडेका छन् । “पहिले गाउँभरि कोदो खेती हुन्थ्यो । अहिले खेतबारी बाँझिन थालेका छन्, खेती गर्ने मानिस पनि कम छन्,” उनले भने ।
गाउँबाट युवा पुस्ता रोजगारीका लागि सहर तथा विदेशतर्फ जाने क्रम बढेपछि खेती गर्ने जनशक्ति घटेको कृषकको भनाइ छ । वन्यजन्तुबाट हुने क्षति, रोग–किराको प्रकोप, मौसममा आएको परिवर्तन र उत्पादनको उचित मूल्य नपाउनु पनि स्थानीय बाली घट्नुका कारण बनेका छन् ।
माथागढी गाउँपालिका–४ ओलेसका अगुवा कृषक डिलबहादुर रानाका अनुसार पहिले स्थानीय कालो भट्ट गाउँमा निकै प्रख्यात थियो । बारीमा उत्पादन भएको भट्टले परिवारको वर्षभरको खाद्यान्न आवश्यकता पूरा गर्न सहयोग पु¥याउँथ्यो । ओलेसको चिसो भूगोलमा फापरसमेत राम्रो उत्पादन हुने गरे पनि अहिले ती बालीको खेती न्यून भएको उनी बताउँछन् ।
तानसेन नगरपालिका–९ मदनपोखराका अगुवा कृषक एकप्रसाद भण्डारीका अनुसार करिब दुई दशक अघिदेखि स्थानीय बीउको प्रयोग घट्दै गएको हो । उत्पादन बढाउने उद्देश्यले नयाँ जातका बीउ गाउँमा भित्रिएपछि किसानले परम्परागत बीउ संरक्षण गर्न छाडेको उनी बताउँछन् ।
“पहिले रैथाने बीउमा रोग तथा किराको प्रकोप कम हुने विश्वास थियो । आफ्नै बीउ जोगाएर अर्को वर्ष प्रयोग गर्ने चलन थियो,” भण्डारीले भने, “अहिले त्यो परम्परा नै हराएको छ ।” पुराना कृषि प्राविधिक वामदेव नेपाल भने रैथाने बीउ हराउनुमा बाह्य कारणभन्दा किसान स्वयंको भूमिका पनि महत्वपूर्ण रहेको बताउँछन् । उत्पादन र तत्कालको आम्दानीलाई प्राथमिकता दिँदा पुस्तौँदेखि संरक्षण हुँदै आएका बीउ हराएको उनको भनाइ छ ।
कृषकले अन्नबालीको विकल्पमा कागती, अदुवा, बेसार तथा फलफूल खेती गर्न थालेपछि पनि परम्परागत अन्नबालीको क्षेत्र घटेको छ । जलवायु परिवर्तनले खेती प्रणालीमा पारेको असरले पनि रैथाने बाली संरक्षण थप चुनौतीपूर्ण बनेको कृषकहरू बताउँछन् ।
कृषि ज्ञान केन्द्र पाल्पाकी प्राविधिक अमिता पाण्डेले रैथाने बाली तथा बीउ संरक्षणलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइने बताए । लुम्बिनी प्रदेश सरकारले यस वर्ष रैथाने बाली संरक्षणलाई प्राथमिकता दिएको उनले जानकारी दिए ।
“पाल्पामा हराउँदै गएका अन्न, दलहन, तरकारी र फलफूलका स्थानीय बीउको संरक्षणमा कार्यक्रम केन्द्रित हुनेछ,” पाण्डेले भने, “रैथाने बीउ जोगाएर कमभन्दा कम विषादी प्रयोग गरी उत्पादन बढाउने लक्ष्य छ ।” तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले स्थानीय बीउ र बालीलाई पालिकाको कृषि नीतिमा प्राथमिकता दिएको बताए । उनका अनुसार दोभानको लघुवा गाउँको स्थानीय आलुको प्रवर्द्धन सुरु गरिएको छ ।
“रैथाने बीउ र बालीसँग हाम्रो पहिचान जोडिएको छ । त्यसैले यसको संरक्षण अहिलेको आवश्यकता हो,” श्रेष्ठले भने ।
कृषि विज्ञ तथा पुराना कृषकहरूले भने रैथाने बीउ संरक्षणका लागि बीउ बैङ्क स्थापना, कृषकलाई प्रोत्साहन, स्थानीय उत्पादनको बजारीकरण र परम्परागत ज्ञानको अभिलेखीकरण आवश्यक रहेको बताएका छन् ।
पुस्तौँदेखि किसानले जोगाउँदै आएका बीउ हराइसकेपछि खोजेर संरक्षण गर्नुभन्दा बाँकी रहेका बीउ र खेती प्रणालीलाई अहिले नै व्यवस्थित रूपमा संरक्षण गर्नुपर्ने उनीहरूको सुझाव छ ।
पाल्पामा रैथाने बीउको संरक्षण केवल कृषि उत्पादनसँग मात्र सम्बन्धित छैन । स्थानीय बीउसँग जोडिएको खानपान, संस्कृति, परम्परा र जैविक विविधताको संरक्षणसँग पनि यसको सम्बन्ध छ । त्यसैले हराउँदै गएका स्थानीय बीउको खोजी, संरक्षण र पुनः प्रयोगलाई कृषि विकासको मूल योजनासँग जोड्नुपर्ने आवश्यकता देखिएको छ ।