Butwal Today

ध्यानमा विद्यार्थी, सकारात्मक सोचको खोजी

३१ श्रावण २०८३, आइतबार
अ+
अ-

बुटवल । लुम्बिनी वाणिज्य क्याम्पस, व्यवस्थापन विभागको आयोजनामा एमबिए–बिएफको ११औँ शैक्षिक ब्याचका विद्यार्थीका लागि लुम्बिनीस्थित जेटवनमा आयोजित दुईदिने ध्यान शिविर सम्पन्न भएको छ ।

विद्यार्थीमा सकारात्मक सोच, आत्म चिन्तन, मानसिक शान्ति तथा आध्यात्मिक चेतना विकास गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा ध्यान, प्रार्थना, आत्म चिन्तन, अनुभव आदानप्रदान तथा ऐतिहासिक स्थलको अवलोकन गराइएको थियो ।

शिविरको पहिलो दिन विद्यार्थीले लुम्बिनीस्थित सङ्ग्रहालयको अवलोकन गरेका थिए । सो अवसरमा सङ्ग्रहालयका निर्देशकलाई व्यवस्थापन विभागका कार्यक्रम निर्देशक डा। भगवतीप्रसाद चौधरी र व्यवस्थापन विभाग प्रमुख उपप्राध्यापक नीरज गौतमले खादा अर्पण गरी स्वागत गरेका थिए ।

सङ्ग्रहालय अवलोकनका क्रममा विद्यार्थीले भगवान् गौतम बुद्धसँग सम्बन्धित प्राचीन मूर्ति, विभिन्न कालखण्डका बुद्धका स्वरूप तथा बुद्धकालीन सामग्रीबारे जानकारी लिएका थिए । त्यस क्रममा ती सामग्रीको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वबारे समेत जानकारी गराइएको थियो ।

सङ्ग्रहालय अवलोकनपछि जेटवनमा ध्यान सत्र सञ्चालन गरिएको थियो । स्वामीजीको मार्गदर्शनमा कुण्डलिनी ध्यानका चार चरणको अभ्यास गराइएको थियो । ध्यानले मानिसको शारीरिक तथा मानसिक तनाव व्यवस्थापनमा सहयोग पु¥याउने तथा सकारात्मक सोच विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विषयमा समेत प्रशिक्षण दिइएको थियो ।

पहिलो दिनको साँझ विद्यार्थीले मायादेवी मन्दिरमा आरतीमा सहभागिता जनाएका थिए । त्यसपछि ध्यान, आत्म चिन्तन तथा आफ्ना अनुभवलाई प्रतिबिम्बित गर्ने सत्रसँगै नृत्य ध्यानसमेत सञ्चालन गरिएको थियो ।

शिविरको दोस्रो दिन ‘गुरु ब्रह्मा, गुरु विष्णु’ तथा ‘बुद्धं शरणं गच्छामि’ प्रार्थनाबाट कार्यक्रम सुरु गरिएको थियो । स्वामीजीको मार्गदर्शनमा गतिशील ध्यानका पाँच चरणअन्तर्गत श्वासप्रश्वास, भावनात्मक अभिव्यक्ति, गुञ्जन, उत्सव र शवासनको अभ्यास गराइएको थियो ।

दोस्रो दिनको बिहान ११ बजे सुरु भएको ध्यान सत्रमा एमबिए विद्यार्थी विजय राज बामरेलले स्वामीजीबाट विशेष आध्यात्मिक आशीर्वाद ग्रहण गरेका थिए । सो अवसरमा उनलाई माला तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसपछि विद्यार्थी विभिन्न भजनमा नृत्य गर्दै भक्ति भाव र सकारात्मक ऊर्जाको अभ्यासमा सहभागी भएका थिए ।

अनुभव तथा प्रतिक्रिया आदानप्रदान कार्यक्रममा व्यवस्थापन विभाग प्रमुख उपप्राध्यापक नीरज गौतमले ध्यानलाई केवल धार्मिक वा आध्यात्मिक अभ्यासका रूपमा मात्र नहेरी विद्यार्थीको दैनिक जीवन र अध्ययनसँग जोडेर हेर्नुपर्ने बताए । उनले नियमित ध्यानले विद्यार्थीमा एकाग्रता, आत्म अनुशासन र सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने बताउँदै व्यवस्थापन अध्ययनसँगै मानसिक स्वास्थ्य र व्यक्तित्व विकासलाई पनि प्राथमिकता दिनुपर्ने धारणा राखे ।

उनले भने, “व्यवस्थापन शिक्षाले विद्यार्थीलाई नेतृत्व र निर्णय क्षमताका लागि तयार गर्छ । त्यसका लागि बाह्य ज्ञानसँगै आफूलाई बुझ्ने र आफ्ना भावनालाई व्यवस्थापन गर्न सक्ने क्षमता पनि आवश्यक हुन्छ । ध्यानले यसका लागि महत्त्वपूर्ण आधार तयार गर्न सक्छ ।” कार्यक्रममा व्यवस्थापन विभागका कार्यक्रम निर्देशक डा। भगवतीप्रसाद चौधरीले ओशो, ध्यान, भक्ति, समर्पण र आत्म चिन्तनबिचको सम्बन्धबारे चर्चा गर्दै ध्यानलाई जीवनको नियमित अभ्यासका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

विद्यार्थीहरूले ध्यान शिविरले आफूहरूमा शान्त रहने, सकारात्मक सोच्ने, आत्म चिन्तन गर्ने तथा दैनिक जीवनका चुनौतीलाई सहज रूपमा सामना गर्ने दृष्टिकोण विकास भएको अनुभव सुनाएका थिए ।

कार्यक्रमको अन्त्यमा स्वामीजीले विद्यार्थीलाई मायाको चिनो प्रदान गरेका थिए । व्यवस्थापन विभागका अनुसार विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै सकारात्मक सोच, आत्म अनुशासन, मानसिक शान्ति र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?