Butwal Today

सरकार धार्मिक तथा प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध छः मन्त्री पौडेल

३१ श्रावण २०८३, आइतबार
अ+
अ-

महोत्तरी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले सरकार धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र विकासमा प्रतिबद्ध रहेको बताएका छन् ।

महोत्तरीको बर्दिवास–५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरको अवलोकन तथा पूजाअर्चना गर्दै मन्त्री पौडेलले टुटेश्वरनाथ महादेव मन्दिर संरक्षण समितिको ध्यानाकर्षण पत्र ग्रहण गर्दै सरकारले धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाको संरक्षणसँगै समयानुकूल विकासलाई प्राथमिकतामा राखेको बताए ।

समितिका अध्यक्ष राजाराम यादवबाट ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री पौडेलले धार्मिकस्थलको संरक्षण, संवर्द्धन तथा पर्यटकीय सम्भावनाको विकासका लागि स्थानीय समुदायसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

‘सरकार यो धार्मिकस्थलको संवर्द्धन र पर्यटकीय सम्भावना विकासबारे स्थानीय समुदायसँग समन्वय गर्दै अघि बढ्न प्रतिबद्ध छ’, उनले भने । मन्त्री पौडेलले ‘मधेसको कैलाश’का रूपमा समेत परिचित टुटेश्वरनाथ महादेव मन्दिरबारे स्थानीयवासीबाट आफूले अतिप्राचीन किंवदन्ती सुनेको बताए ।

यसअघि मन्दिर परिसरमा मन्त्री पौडेलको स्वागत गर्दै संरक्षण समितिका अध्यक्ष यादवले टुटेश्वरधामसँग जोडिएका रामायण तथा महाभारतकालीन किंवदन्तीबारे अध्ययन तथा अनुसन्धान गर्न आग्रह गरेका थिए । उनले मन्दिरको संरक्षण तथा विकासका लागि सरकारको ध्यानाकर्षणसमेत गराए ।

समितिले बर्सेनि साउने बोलबम मेलामा लाखौँ श्रद्धालु सहभागी हुने टुटेश्वरधाम पुग्ने बाटोमा विश्राम चौतारी, खानेपानी, विद्युत् तथा शौचालयको व्यवस्था गर्न माग गरेको छ ।

त्यस्तै, मन्दिर आसपासको वन संरक्षण, माण्डवीगङ्गा नदीमा घाट तथा तटबन्ध निर्माण, धर्मशाला निर्माण र मन्दिरको दीर्घकालीन संरक्षण तथा संवर्द्धनका लागि आवश्यक उपायसहित विस्तृत परियोजना प्रस्ताव तयार गर्नसमेत समितिले आग्रह गरेको छ ।

मन्त्री पौडेलसँगै अवलोकन भ्रमणमा राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेशका सभापति एवं प्रतिनिधिसभा सदस्य तपेश्वर यादव तथा महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतो पनि सहभागी थिए ।

मन्त्री पौडेलद्वारा विभिन्न देवस्थलको अवलोकन तथा पूजाअर्चना

यसैबीच, मन्त्री पौडेलले महोत्तरीका विभिन्न देवस्थलको अवलोकन तथा पूजाअर्चना गरेका छन् । उनले बर्दिवास–५ स्थित टुटेश्वरनाथ महादेव मन्दिर र बर्दिवास–४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिरको अवलोकन तथा पूजाअर्चना गरेका हुन् ।

चुरे पहाडी शृङ्खलानजिक रहेका दुवै धार्मिकस्थल अत्यन्त रमणीय स्थानमा रहेको बताउँदै मन्त्री पौडेलले यी क्षेत्र धार्मिक पर्यटनका दृष्टिले सम्भावनायुक्त रहेको उल्लेख गरे । मन्दिर क्षेत्रको अवलोकन तथा पूजाअर्चनापछि उनले भने, ‘यी ठाउँ धार्मिक पर्यटनका दृष्टिले सम्भावनायुक्त छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?