Butwal Today

सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रस्ताव

३१ श्रावण २०८३, आइतबार
अ+
अ-

काठमाडौँ । नेपाली कांग्रेसको तीनदिने राष्ट्रिय भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधारका रूपमा अघि बढाउने विशेष प्रस्ताव पारित गरेको छ ।

सुकेधारामा आइतबार सम्पन्न भेलाले मुलुकको मौलिक धार्मिक तथा सांस्कृतिक जगलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको हो ।

भेलाले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘नेपालको सनातनदेखि चलिआएको धर्म र संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालमा रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा हरेक व्यक्ति र धार्मिक समुदायले आफ्नो धर्म मान्न पाउने अधिकार सुनिश्चित गर्दै सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउन कांग्रेस प्रतिबद्ध रहनेछ ।’

कांग्रेसले प्रस्तावमार्फत परापूर्वकालदेखि नेपालमा रहिआएका विशिष्ट धर्महरूको संरक्षण गर्ने दायित्वलाई समेत उल्लेख गरेको छ । प्रस्तावमा भनिएको छ, ‘सनातनदेखि चलिआएको हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गर्दै यी मौलिक पहिचानलाई जोगाउन पार्टीले विशेष भूमिका खेल्नेछ ।’

पार्टीले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने उल्लेख गरे पनि व्यक्तिगत धार्मिक स्वतन्त्रता र सामाजिक सद्भावलाई उत्तिकै महत्त्व दिएको जनाएको छ । नेपाल बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएको तथ्यलाई आत्मसात् गर्दै सबै धर्म र समुदायबीचको आपसी एकता, सद्भाव र सहिष्णुतालाई कांग्रेसले आफ्नो नीतिगत आधार बनाएको छ ।

यसअघि समापन समारोहमा बोल्दै निवर्तमान सभापति शेरबहादुर देउवाले पनि आफू व्यक्तिगत रूपमा सनातन हिन्दु धर्म मान्ने भए पनि सबै धर्मको सम्मान गर्ने धारणा व्यक्त गरेका थिए ।

भेलाको समापनका क्रममा प्रस्तावमा प्रयोग गरिएको शब्दावलीलाई लिएर केही नेताबीच सामान्य विवादसमेत देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?