© 2026
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको धार्मिक पहिचानका विषयमा आफू व्यक्तिगत रूपमा सनातन हिन्दु धर्मप्रति आस्थावान रहेको बताएका छन् ।
काठमाडौँको सुकेधारामा आयोजित इतर समूहको तीन दिने राष्ट्रिय भेलाको समापन समारोहमा बोल्दै देउवाले आफू हिन्दु धर्मावलम्बी रहेको बताएका हुन् ।
कार्यक्रममा सहभागी एक प्रतिनिधिले ‘हिन्दु राष्ट्र’ बारे धारणा माग गर्दै बुझाएको पत्रको जवाफ दिँदै देउवाले भने, ‘म व्यक्तिगत रूपमा हिन्दु हुँ ।
मैले हिन्दु परम्पराअनुसार व्रतबन्ध गरेको छु, विवाह गरेको छु । म पशुपति जान्छु र पूजाआजा गर्छु । तर देशमा धर्मका विषयमा के हुने वा नहुने भन्ने कुरा जनताको निर्णयमा भर पर्छ । देशमा सबैका लागि धार्मिक स्वतन्त्रता हुनुपर्छ ।’
सम्बोधनका क्रममा देउवाले नेपालको न्यायालयप्रति आफू उच्च सम्मान राख्ने बताए । उनले सर्वोच्च अदालतदेखि अन्य न्यायालयसम्मले विगतदेखि नै आफूलाई न्याय दिएको स्मरण गरे ।
‘सर्वोच्च अदालतदेखि सबै न्यायालयले हिजोदेखि हामीलाई न्याय दिँदै आएका छन्,’ देउवाले भने, ‘पञ्चायतले थुन्दा होस् वा राजाले शाही आयोग बनाएर थुन्दा, न्यायालयले नै त्यसलाई खारेज गरेर मलाई बचाएको हो । न्यायालयकै कारण आज म यहाँसम्म आइपुगेको छु ।’
नेता देउवाले गत पुसमा सम्पन्न विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूहरू न्यायालय गएको स्पष्ट पारे । मैले पहिले नै भनेको थिएँ । विशेष महाधिवेशन सबैको सहमतिमा गरौँ, कसैलाई अन्याय नहोस् । तर जबरजस्ती गरेर धेरै साथीहरूलाई बाहिर राखियो । त्यसैले हामी अदालत गएका हौँ,’ उनले भने ।
विशेष महाधिवेशनसम्बन्धी मुद्दामा अदालतको पूर्ण फैसला आउन बाँकी रहेको भन्दै देउवाले यस विषयमा आफूले धेरै बोल्न नचाहेको बताए । ‘अदालतको पूर्ण निर्णय आउन बाँकी छ । त्यसैले म धेरै बोल्न चाहन्नँ । म अदालतको कुरा मान्छु,’ उनले भने ।