Butwal Today

काँग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला सुरु

२९ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर पक्षको तीन दिने राष्ट्रिय भेला आजदेखि सुरु भएको छ ।

काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा आयोजित भेलामा काँग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् ।

समारोहमा पार्टीका शीर्ष नेताहरू पूर्णबहादुर खड्का, डा। शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा। प्रकाश शरण महत, महालक्ष्मी उपाध्याय (डिना), अम्बिका बस्नेतलगायत सहभागी छन् ।

पार्टीका पूर्व महामन्त्री एवं भेलाका संयोजक डा. शशाङ्क कोइरालाको अध्यक्षतामा भएको भेलामा मुलुकभरबाट आएका सयौँ नेता तथा कार्यकर्ताको उपस्थिति छ ।

पूर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका हुन् । प्रचारप्रसार समिति संयोजक मीनबहादुर विश्वकर्माका अनुसार आजदेखि सुरु भएको भेलाको शनिबार र आइतबार बन्द सत्र सञ्चालन हुनेछ । बन्द सत्रमा राजनीतिक, साङ्गठनिक, आर्थिक तथा समसामयिक विषयका साथै विभिन्न प्रस्तावमाथि छलफल गरिनेछ ।

काँग्रेसको गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनले तत्कालीन महामन्त्री गगनकुमार थापालाई सभापतिमा चयन गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । विशेष महाधिवेशनमा सहभागी नभएको तत्कालीन संस्थापन पक्षले विशेष महाधिवेशन अवैध भएको दाबी गर्दै निर्वाचन आयोगमा उजुरी दिएको थियो ।

आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई मान्यता दिएपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत पुगेको थियो ।

सर्वोच्च अदालतले पनि आयोगको निर्णयलाई नै मान्यता दिएको थियो । त्यसपछि असन्तुष्ट पक्षले पुनरावलोकनका लागि दिएको आधिकारिकताको निवेदनमाथि पुनः सुनुवाइ गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले यही साउन २१ गते निस्सा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?