Butwal Today

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन सांसदको माग

२८ श्रावण २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले सुर्सरीलगायत क्षेत्रमा केही समयअघि भएका साम्प्रदायिक हिंसाका घटनाका दोषीउपर कारबाही गरी मुलुकभर शान्ति र सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनीहरूले शान्ति सुरक्षाका साथै दैनिक जीवनका आवश्यक वस्तुको सहज आपूर्ति गर्न माग गरे ।

बैठकमा नेपाली काँग्रेसका सांसद विष्णुकुमारी सापकोटाले नेपाली जनता खाना पकाउने ग्यासको अभाव र महँगीको मारमा परिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले मौलिक हकभित्रै व्यवस्था भएको खाद्य, स्वास्थ्य र शिक्षाको अधिकार सुनिश्चित गर्न माग गरिन् ।

सामाजिक सञ्जालमा एक–अर्कालाई गालीगलौज गर्ने क्रम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले पवित्र भूमि नेपालमा यस्तो असहिष्णुता सह्य नहुने बताइन् ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद रेणु चन्दले साम्प्रदायिक घटनाका नाममा मधेसमा भएका घटनाका दोषीउपर तत्काल कारबाही गरी उक्त क्षेत्रमा शान्ति र सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले पुराना राजनीतिक दलले ३५ वर्षमा केही गरेनन् भन्ने भाष्य यथार्थ नभएको भन्दै यस अवधिमा आर्थिक, शैक्षिक तथा विकासका क्षेत्रमा भएका कामको अध्ययन गरेर हेर्न आग्रह गरिन् ।

नेकपा (एमाले) की सांसद मीना सिंह रखालले सरकारले सार्वजनिक गरेको सय कार्यसूचीमा नागरिकको जीवनमा प्रत्यक्ष सुधार ल्याउने लक्ष्य राखिए पनि सुकुम्वासीको व्यवस्थापन प्रभावकारी हुन नसक्दा नागरिक थप पीडामा परेको बताइन् । उनले सरकारको कार्यसम्पादन फाइल र तथ्याङ्कले नभई नागरिकको जीवनस्तरमा सुधार र आधारभूत आवश्यकता सहज बनाउनुपर्नेमा जोड दिइन् ।

जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरीले स्वास्थ्य सेवा मौलिक हकमै सुनिश्चित भए पनि अहिले पनि नेपालीहरूले उपचार गराउन घरबारी बेच्नुपर्ने अवस्था रहेको बताइन् ।

कतिपय अवस्थामा उपचार नै गराउन नसक्ने अवस्था रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन् । उनले सरकारी अस्पतालमा गर्भवती र सुत्केरीलाई आवश्यक पर्ने आइरन चक्कीको कमी रहेको तथा रेबिजविरुद्धको खोप र सर्पदंशको उपचारसमेत सहज हुन नसकेकोप्रति दुःख व्यक्त गरिन् ।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले देशमा महँगी चुलिँदै जाँदा जनता मारमा परेको अवस्थामा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायी माथि कारबाही गर्न सरकारसँग माग गरे । उनले तराईबाट धार्मिक दङ्गा भड्काउने खालका घटना भएकोप्रति सरकार सचेत हुनुपर्ने भन्दै आगामी दिनमा त्यस्ता गतिविधि हुन नदिन आवश्यक कदम चाल्न आग्रह गरे ।

काँग्रेसका सांसद वासुदेव घिमिरेले सुकुम्वासीको समस्या समाधान हुन नसकेको, कृषकलाई समयमै मल र बीउ उपलब्ध हुन नसकेको तथा न्यायपालिका, व्यवस्थापिका र निजामती कर्मचारीलाई व्यवस्थित बनाउन नसकिएको आरोप लगाए ।

उनले नेपाल सरकारको पूर्ण स्वामित्वमा आँखा अस्पताल नखोलिएको भन्दै अहिले दृष्टिविहीनको सङ्ख्या ०.२८ प्रतिशत पुगेकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले काठमाडौँबाहिर देशका अन्य क्षेत्रमा पनि आँखा अस्पताल स्थापना गर्नुपर्नेमा जोड दिए ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले जातीय छुवाछुत अन्त्यको माग गर्दै ८० दिनदेखि माइतीघरमा आन्दोलनरत व्यक्तिहरूलाई सरकारले तत्काल वार्तामा बोलाएर समस्या समाधान गर्न आग्रह गरे ।

नेकपा ९एमाले०की सांसद रुक्मिणी कोइरालाले अहिले नागरिकले दैनिक जीवनका उपभोग्य वस्तुको अभावमा पीडा भोगिरहेको र रोजगारी तथा अध्ययनका लागि विदेश जाने युवाको सङ्ख्या अझै बढ्दै गएकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् । उनले मुलुकभरका विभिन्न बालसुधार केन्द्रमा धेरै समस्या देखिएकाले त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताइन् ।

सांसद धर्मेन्द्र पासवानले विभिन्न समस्या र आर्थिक अभावका कारण मुलुकमा आत्महत्या गर्ने क्रम बढेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै त्यसको दीर्घकालीन समाधानका लागि सचेत हुन आग्रह गरे । उनले अझै पनि मुलुकमा भुइँमान्छेले न्याय पाउने अवस्था नरहेको बताउँदै नयाँ राजनीतिक परिवेशले पनि त्यसलाई समाधान गर्न नसकेको टिप्पणी गरे ।

सांसद मनरुपा शर्माले पीडितहरूको आँसु पोख्ने थलो बनेको माइतीघरमा धर्ना बसेका जनताका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरिन् । उनले दैनिक जीवनका उपभोग्य वस्तुको सहज आपूर्ति नहुँदा आमजनताले महँगी खेप्नुपरेको, ग्यासका लागि लाइन लागेर अनावश्यक समय बिताउनुपरेको र रोजगारीका लागि बिदेसिनुपरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?