काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा झन्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएसँगै अपिल जारी गरेका छन् ।
अपिलमार्फत देउवाले आफू कुनै पद वा शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण र युवा पुस्ताको भावनालाई सम्बोधन गर्न सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ,’ देउवाले अपिलमा भनेका छन् । देउवाले वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल भएको आरोप लगाएका छन् । सरकारले जनताको मतको कदर गर्न नसकेको र राजनीतिक आग्रह तथा पूर्वाग्रहमा मात्र केन्द्रित भएको उनको तर्क छ ।
‘ताजा जनमतबाट उदाएको सत्तारुढ दलले जनताको मतलाई कदर गर्न सकेन भने लोकतन्त्रमा जनता नै जनार्दन हुन् भन्ने विषय कसैले बदल्न सक्दैन,’ देउवाले अपिलमा उल्लेख गरेका छन् ।
युवा पुस्तामा देखिएको परिवर्तनको तीव्र चाहना र उनीहरूको मौन पीडालाई काँग्रेसले नजिकबाट बुझेको देउवाले बताएका छन् । बदलिँदो समयसँगै पार्टीलाई पनि रूपान्तरण गर्दै लैजानुपर्ने र नयाँ पुस्ताको सृजनशील क्षमतालाई कदर गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
विगतका त्याग र बलिदानलाई नजरअन्दाज नगर्न आग्रह गर्दै देउवाले नयाँ र पुरानो पुस्ताबिच सहकार्य आवश्यक रहेको बताएका छन् ।
२०३३ सालमा जननायक बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक सन्दर्भ स्मरण गर्दै देउवाले अहिले पनि मुलुकलाई सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन् ।
पार्टीका कार्यकर्तामा केही निराशा देखिएको स्वीकार गर्दै देउवाले उनीहरूको मनोबल बढाउन आफू सक्रिय हुने उल्लेख गरेका छन् । काँग्रेसको ऐतिहासिक दायित्व अझै पूरा नभएको भन्दै पार्टीलाई थप सुदृढ बनाउन सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन् ।
संविधानको संरक्षण र आवश्यक संशोधन राष्ट्रिय सहमतिका आधारमा मात्र हुनुपर्ने देउवाको अडान छ । लोकतन्त्र, संविधान र नागरिक अधिकारका पक्षमा काँग्रेसले कहिल्यै सम्झौता नगर्ने उनले दोहोर्याएका छन् ।
आफूलाई कुनै व्यक्तिगत लाभ वा पदको चाहना नरहेको स्पष्ट पार्दै देउवाले जीवनको बाँकी समय राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सेवामा समर्पित गर्ने बताएका छन् ।
‘नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको हुँ,’ भन्दै उनले विनम्रता र प्रेमका साथ राष्ट्र सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।