© 2026
काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्यासको अभावका कारण नागरिकले खाना पकाउनसमेत समस्या भोग्नुपरेको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सदस्य विष्णुदेवी पुडासैनीले ग्यासको अभावका कारण नागरिकले खाना खानै नपाउने अवस्था सिर्जना भएकाले तत्काल समस्या समाधान गर्न आग्रह गरिन् ।
सदस्य कृष्णप्रसाद अधिकारीले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको भन्दै कालोबजारी नियन्त्रणका लागि प्रभावकारी र कडा अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराए । सदस्य घनश्याम रिजालले अप्रत्याशित रूपमा पक्राउ गरिएका वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरे ।
सदस्य पदमबहादुर परियारले तनहुँ हाइड्रो निर्माणका क्रममा सेती नदीको बहाव परिवर्तन हुँदा समस्या उत्पन्न भएकाले त्यसको समाधान गर्न सरकारसँग आग्रह गरे । सदस्य रुक्मिणी कोइरालाले पाकिस्तानमा हिमाल आरोहणका क्रममा निधन भएका निर्मल पुर्जासहित छ नेपाली तथा अन्य तीन जनाको निधनप्रति दुःख व्यक्त गरिन् ।
सदस्य रेनु चन्दले कञ्चनपुरका आरक्षपीडितको समस्या समाधानका लागि तीन दर्जनभन्दा बढी आयोग गठन भए पनि समस्या समाधान हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सदस्य विष्णुकुमारी सापकोटाले काठमाडौँ उपत्यकामा घर तथा कोठा भाडाका लागि स्पष्ट नीति बनाएर भाडादर निर्धारण गर्न सरकारसँग माग गरिन् ।
सदस्य विष्णुबहादुर विश्वकर्माले कालिकोटको नरहरिनाथ गाउँपालिकाका स्थानीय वासीलाई बुधबार गरिएको धरपकडको विरोध गर्दै घटनाबारे सरकारको ध्यानाकर्षण गराए ।