© 2026
काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गरी उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले ग्यास आयात, आपूर्ति र बिक्री वितरणलाई व्यवस्थित, पारदर्शी तथा प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका हुन् ।
नेपाली कांग्रेसकी कमलादेवी पन्तले सरकारले भारतबाट मागभन्दा बढी ग्यास आयात भइरहेको दाबी गरे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताउँदै आपूर्ति तथा बिक्री वितरणको वास्तविक अवस्थाबारे सभालाई जानकारी गराउन माग गरिन् ।
राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले ग्यास अभावका कारण सर्वसाधारणले ठुलो कष्ट व्यहोर्नु परेको उल्लेख गर्दै समस्या तत्काल समाधान गर्न आग्रह गरे । नेकपाका नरबहादुर विष्टले ग्यासको बिक्री वितरण प्रणाली व्यवस्थित गर्दै जनताका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताए ।
काँग्रेसका युवराज शर्माले एलपी ग्यासको कृत्रिम अभाव तत्काल अन्त्य गरी बिक्री वितरणलाई पारदर्शी बनाउन माग गरे । कांग्रेसकै नारायणदत्त मिश्रले सुनसरीको देवानगञ्जमा दुई समुदायबिच भएको विवादसम्बन्धी घटनाको न्यायिक छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरे ।
नेकपाका भुवनबहादुर सुनारले ग्यास अभावको दीर्घकालीन समाधान, महँगी नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए ।मदनकुमारी शाह (गरिमा) ले निर्वाचनका समयमा जनतासामु गरिएका प्रतिबद्धता पूरा गर्न सरकारलाई आग्रह गरिन् ।
जनता समाजवादी पार्टी नेपालका मोहम्मद खालिदले सिरहाको गोलबजारमा केही दिनअघि भएको प्रदर्शनका क्रममा व्यापारिक प्रतिष्ठान तथा आस्थाका केन्द्रमा आगजनी र तोडफोड भएकोप्रति चिन्ता व्यक्त गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक पहल गर्न सरकारलाई सुझाव दिए ।
नेकपाकी राजेन्द्रलक्ष्मी गैरेले उपचार खर्च अभावमा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न स्वास्थ्य सेवा प्रणालीलाई भरोसायोग्य बनाउन सरकारको ध्यानाकर्षण गराइन् । नेकपाका सुरेशकुमार आलेमगरले सुकुम्वासी तथा भूमिहीनको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग आग्रह गरे ।