© 2026
काठमान्डौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेस सांसद भरतबहादुर श्वारले सीमा विवाददेखि प्रशासनिक ढिलासुस्ती र भ्रष्टाचारका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद श्वारले भारतले नेपालको भूमि मिचेको विषयमा सरकार मौन रहेको भन्दै आलोचना गरे । लिम्पियाधुरा, कालापानी र सुस्तालगायत नेपाली भूभाग भारतले मिचिरहेको अवस्थामा प्रधानमन्त्रीले ठोस कदम चाल्न नसकेको उनको आरोप थियो ।
‘आफ्नो कार्यकक्षमा अखण्ड नेपालको नक्सा राख्ने प्रधानमन्त्रीले अहिले चुच्चे नक्सा मेटाएर १०० रुपैयाँको नोटमा छाप्न किन बाध्यकारी अवस्था आयो ?’ उनले प्रश्न गरे ।
विद्युत् महसुल, राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र मालपोतका काममा सर्वसाधारणले भोग्नुपरेको सास्तीबारे पनि उनले सरकारलाई सचेत गराए । ‘मालपोतमा सानो जग्गा फुकुवा गर्न ६ महिना लाग्दा पनि काम हुँदैन । यसको भुक्तभोगी म आफैँ हुँ,’ उनले भने ।
अनलाइन सेवाको कुरा गरिए पनि व्यवहारमा सर्वसाधारणले दुःख मात्रै पाएको उनको टिप्पणी थियो ।
सांसद श्वारले आफूले सुदूरपश्चिम र अछामका विकास निर्माणका समस्या राख्न चैत २१ गतेदेखि प्रधानमन्त्रीसँग समय मागे पनि भेट नपाएको गुनासो गरे ।
‘तपाईं कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ, प्रधानमन्त्रीज्यू ? यो समग्र सुदूरपश्चिम र अछामका जनतामाथि गरिएको अपमान हो,’ उनले भने ।
उनले प्रधानमन्त्रीलाई सुदूरपश्चिमका जनतालाई देखावटी माया नगर्न समेत आग्रह गरे ।
भ्रष्टाचारका मुद्दामा सरकारले दोहोरो मापदण्ड अपनाएको आरोप लगाउँदै उनले सबैको सम्पत्ति र फाइल खोलिनुपर्ने माग गरे ।