© 2026
सल्यान ।
निःशुल्क विशेषज्ञ आँखा शिविरको पहिलो दिन सल्यान कपुरकोट गाउँपालिकामा शुक्रवार २९० जनाले सेवा लिएका छन् । सामान्य आँखा जाँचदेखि मोतिविन्दुको शल्यक्रिया सम्मका लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै कपुरकोट गाउँपालिकामा शिविर सञ्चालन गरिएको हो ।
कपुरकोट गाउँपालिकाको आयोजना तथा राप्ती आँखा अस्पताल तुलसीपुर, दाङको प्राविधिक सहयोगमा वडा नं. ५ स्थित रिम स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा पुरुष १६९ र महिला १२१ गरी २९० जनाको आँखा परीक्षण गरिएको हो । नेत्र सहायक सुरुची बुढाथोकी नेतृत्वको प्राविधिक टोलीले बिरामीहरूको आँखाको परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरेको थियो ।
शिविरमा सामान्य आँखाको समस्या मात्र नभई मोतिविन्दुका बिरामीसमेत पहिचान भएका छन् । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुवाश हमालका अनुसार पहिलो दिन २६ जनामा मोतिविन्दु देखिएको छ । उनीहरूलाई आइतबार निःशुल्क शल्यक्रिया गरिनेछ ।
शिविरबाट ६० जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ भने १७० जनाको सामान्य आँखा परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । थप विशेषज्ञ उपचार आवश्यक देखिएका ३४ जनालाई प्रेषण गरिएको छ ।
शिविर शनिवार वडा नं. २ स्थित गर्पा स्वास्थ्य चौकीमा पनि सञ्चालन हुनेछ । दुवै स्थानमा मोतिविन्दु पहिचान भएका बिरामीका साथै पालिकाभित्र रहेका अन्य मोतिविन्दुका बिरामीको पनि आइतबार (साउन २४ गते) कपुरकोट आधारभूत अस्पतालमै निःशुल्क शल्यक्रिया गरिने स्वास्थ्य शाखा प्रमुख हमालले जानकारी दिए ।
उनका अनुसार शल्यक्रियापछि बिरामीलाई आवश्यक पर्ने औषधि, कालो चस्मा तथा अन्य आवश्यक सामग्रीसमेत निःशुल्क उपलब्ध गराइनेछ । यसले आर्थिक अवस्था कमजोर भएका तथा उपचारका लागि टाढा जान नसक्ने नागरिकलाई ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ ।
यसअघि सामान्य आँखा जाँच गराउन वा मोतिविन्दुको शल्यक्रिया गर्न दाङको तुलसीपुरलगायत जिल्ला बाहिर पुग्नुपर्ने अवस्था थियो । यातायात खर्च, बसाइँ र समयको अभावका कारण धेरै नागरिकले समयमै उपचारसमेत गराउन सकेका थिएनन् । अहिले भने आफ्नै गाउँपालिकामै विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध भएपछि स्थानीयले सहज रूपमा उपचार पाउन थालेका छन् ।
गाउँपालिकाले नागरिकलाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने नीति अनुसार विशेषज्ञ स्वास्थ्य शिविरलाई निरन्तरता दिँदै आएको जनाएको छ ।