Butwal Today

संसद बैठकमा अबदेखि कालो चस्मा लगाउन नपाइने

२१ श्रावण २०८३, बिहीबार
अ+
अ-

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा अबदेखि सांसदहरूले कालो चस्मा लगाउन नपाउने निर्देशन दिएका छन्। संसदको गरिमा, मर्यादा र औपचारिकता कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।

कार्यव्यवस्था परामर्श समितिको बुधबार बसेको बैठकमा सभामुख अर्यालले संसदमा कालो चस्मा लगाउने विषयमा पटक–पटक प्रश्न उठेकाले अब यस्तो अभ्यास अन्त्य गर्नुपर्ने बताएका थिए। उनले प्रमुख सचेतक तथा सचेतकहरूलाई आफ्ना दलका सांसदहरूलाई यसबारे जानकारी गराउन पनि आग्रह गरेका छन्।

बैठकमा हाल बालेन शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्साललगायत केही सांसदहरू पनि कालो चस्मा लगाएर संसदमा उपस्थित हुने गरेको उल्लेख गर्दै यो निर्णय सबैलाई समान रूपमा लागू हुनुपर्ने विषयमा चासो व्यक्त गरिएको थियो। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि नियम पालना गराउन सभामुखले पहल गर्नुपर्ने बताउँदै आफ्नो पार्टीका सांसदहरूलाई भने अबदेखि कालो चस्मा नलगाउन निर्देशन दिने जानकारी दिइन्।

सत्तारुढ दलका सचेतक प्रकाशचन्द्र परियारले संसदलाई थप मर्यादित बनाउने उद्देश्यले कालो चस्माको विषय उठाइएको र यो सांसदहरूको आचरणसँग सम्बन्धित रहेको बताए।त्यस्तै, नेकपाका प्रमुख सचेतक युवराज दुलालका अनुसार सभामुखले औपचारिक पोशाकमा विशेष ध्यान दिन, कोट लगाउने, कालो चस्माको प्रयोग नगर्ने तथा संसद बैठकलाई थप मर्यादित बनाउन आग्रह गरेका छन्।

सभामुखले बैठक सञ्चालन भइरहेका बेला सांसदहरू लामो समयसम्म लबीमा बसेर गफ गर्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाउँदै बैठक चलिरहँदा सांसदहरू बैठक कक्षमै उपस्थित हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधिसभा नियमावलीअनुसार सांसदहरूको पोशाक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोक्ने व्यवस्था रहेको छ। पोशाक निर्धारण गर्दा औपचारिक, मर्यादित तथा नेपाली मौलिक संस्कृति, परम्परा र पहिचान झल्किने भेषभूषालाई प्राथमिकता दिनुपर्ने उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?