© 2026
काठमाडौँ । राष्ट्रियसभामा मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत भएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै नेपाली काँग्रेस संसदीय दलकी नेता कमला पन्तले गृहमन्त्री सुधन गुरुङसँग स्पष्ट जानकारी माग गरिन् । उनले मनसुनका बेला बाढी, पहिरो, डुबान तथा हिमताल विस्फोटको बढ्दो जोखिमका सन्दर्भमा सरकारको तयारीबारे गम्भीर हुन आग्रह गरिन् ।
सांसद पन्तले अपाङ्गता भएका व्यक्ति, बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा जोखिमयुक्त समुदायको उद्धार र पुनः स्थापनाको योजनाबारे पनि जानकारी माग गरिन् ।
सांसद पन्तले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना–२०८३’ अनुसार यस वर्ष करिब ५१ हजार ८६८ घरधुरीका दुई लाख २६ हजार ६६१ नागरिक प्रभावित हुन सक्ने अनुमान रहेको उल्लेख गरिन् ।
उनले पूर्व सूचना प्रणालीको प्रभावकारी कार्यान्वयन, जोखिमयुक्त बस्तीको समयमै स्थानान्तरण तथा उद्धारका लागि जनशक्ति, उपकरण, खाद्यान्न, औषधि र अस्थायी आवासको पूर्व तयारी सुदृढ बनाउनुपर्नेमा जोड दिइन् ।
उनले २०८१ सालको बाढी पहिरोबाट सिक्दै पूर्व सूचनापछि अवलम्बन गरिने स्पष्ट कार्य प्रणाली, सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय तथा एकीकृत कमान्ड प्रणाली आवश्यक रहेको औँल्याइन् ।
सांसद पन्तले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेको अवस्थाप्रति पनि चासो व्यक्त गर्दै मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्य योजनाको कार्यान्वयन, जोखिमयुक्त क्षेत्रको तयारी, उद्धार सामग्री, राहत कोष, पूर्व सूचना प्रणालीको प्रभावकारिता तथा विपद्पछिको उद्धार, राहत र पुनः स्थापनाको तयारीबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरिन् ।
उक्त प्रस्तावमाथि समर्थन जनाउँदै सांसद मदनकुमारी शाह (गरिमा), सोमनाथ पोर्तेल र पदमबहादुर परियारले पनि सरकारको ध्यानाकर्षण गराए ।