Butwal Today

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छ: गृहमन्त्री

२१ श्रावण २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उनले देशमा शान्ति सुरक्षा कायम राख्न गृह मन्त्रालय सक्रिय रहेको बताए ।

गृहमन्त्री गुरुङले संवेदनशील विषयमा प्रश्न उठाउँदा सांसदहरू पनि संवेदनशील हुनुपर्नेमा जोड दिए । “माननीयज्यूहरूले उठाउनुभएका विषय निकै संवेदनशील छन् । कुनै व्यक्तिको परिवारका सदस्यको निधन हुँदा त्यस विषयलाई बारम्बार सम्झाइरहँदा पीडित परिवारलाई शान्ति मिल्छ ?” उनले प्रश्न गरे ।

गृहमन्त्री गुरुङले उक्त विषयमा अनुसन्धान जारी रहेकाले त्यसबारे टिप्पणी गर्न उपयुक्त नहुने बताए । “यस विषयमा सूक्ष्म रूपमा अनुसन्धान भइरहेको छ,” उनले भने, “प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण माननीयज्यूहरूलाई यो विषय बारम्बार उठान नगर्न अनुरोध गर्दछु ।” यद्यपि, उनले यस्ता विषयमा व्यक्तिगत रूपमा पनि आफूलाई सोध्न सकिने बताए ।

गृहमन्त्री गुरुङले निर्मला पन्त प्रकरणबारे टिप्पणी गर्न नचाहेको पनि बताए । सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीको अभिव्यक्तिबाट आफ्नो विधायकीय अधिकार हनन भएको महसुस गरेको बताउँदै प्रश्न गर्ने सांसद र त्यसको उत्तर दिने मन्त्रीको अधिकार संसदीय अभ्यासको स्वाभाविक प्रक्रिया भएको स्मरण गराए ।

फरक प्रसङ्गमा गृहमन्त्री गुरुङले मानसिक स्वास्थ्यका विषयमा सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबिच समन्वय आवश्यक रहेको बताए । “हाम्रो देशले धेरै उतारचढाव बेहोरेको छ । त्यसैले तीनै तहका सरकार मिलेर मानसिक स्वास्थ्यसम्बन्धी योजना बनाइरहेका छौँ,” उनले भने, “११६६ हेल्प लाइनमार्फत आत्महत्या रोकथामका लागि प्रयास भइरहेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?