© 2026
नेपालगन्ज । निर्वाचन आयोगले मतदाता परिचयपत्रका लागि नाम दर्ता गर्न आह्वान गरेपछि बाँकेमा तीन हजार ७७६ नयाँ मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार राष्ट्रिय परिचयपत्रका आधारमा दुई हजार ५२९ र नागरिकताका आधारमा एक हजार २४७ जनाले मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन् ।
राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार ३७१ पुरुष र एक हजार १५८ महिला तथा नागरिकताका आधारमा ६५७ पुरुष र ५९० महिलाले नाम दर्ता गराएको उनले बताए ।
आयोगले अर्को सूचना जारी नगर्दासम्म निरन्तर मतदाता नामावली दर्ताको काम हुने उल्लेख गर्दै प्रमुख शाहीले युवा पुस्ताले धमाधम मतदाता नामावलीमा नाम दर्ता गराउन थालेको बताए ।
“अहिले अनलाइनबाट सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ,” उनले भने । प्रमुख शाहीले जिल्लाका कोहलपुर, राप्तीसोनारी, डुडुवा, नरैनापुर, जानकी र खजुरालगायत क्षेत्रबाट मतदाता नामावलीमा नाम दर्ता भइरहेको उल्लेख गर्दै त्रुटि सच्याउने र विवरण अद्यावधिक गर्ने कार्य पनि जारी रहेको बताए ।
अन्तिम नामावली प्रकाशन भएपछि मात्रै बाँकेमा कति नयाँ मतदाता थपिए भन्ने यकिन हुने उल्लेख गर्दै उनले बाहिरी जिल्लाका नागरिकले पनि बाँकेबाट मतदाता परिचयपत्रका लागि नाम दर्ता गराइरहेको जानकारी दिए ।
विसं २०८२ को निर्वाचनसम्म बाँकेमा तीन लाख ५० हजार ३७१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । तीमध्ये एक लाख ७२ हजार २२३ महिला, एक लाख ७८ हजार १३९ पुरुष तथा अन्य नौ जना रहेका थिए । आयोगले बाँकेमा २०८२ चैत २२ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गरेको थियो ।