काठमाडौँ । सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त नियमावली स्वीकृत गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सूक्ष्म कोरा तथ्याङ्क तथा गणना क्षेत्र नक्सा उपलब्ध गराउँदा लाग्ने शुल्कमा संशोधन गरिएको छ ।
यसअघि गणना शीर्षकअन्तर्गत नेपालस्थित विद्यालय, कलेज तथा विश्वविद्यालयका विद्यार्थीका लागि लाग्ने शुल्क चार हजार रुपैयाँ रहेकामा दुई हजार रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, सर्वेक्षण शीर्षकअन्तर्गत नेपालस्थित विद्यालय, कलेज तथा विश्वविद्यालयका विद्यार्थीका लागि लाग्दै आएको दुई हजार ५०० रुपैयाँबाट घटाएर एक हजार २०० रुपैयाँ कायम गरिएको छ ।
साथै, गणना क्षेत्र नक्सा शीर्षक थप गरी संस्थाका लागि २०० रुपैयाँ र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका लागि ३०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
त्यसै गरी, तथ्याङ्क सङ्कलनका लागि जनशक्ति खटाउनुअघि कार्यालयले जारी गरेको तालिम सञ्चालनसम्बन्धी निर्देशनबमोजिम सैद्धान्तिक र व्यावहारिक पक्ष समेट्ने गरी तालिम सञ्चालन गर्नुपर्ने व्यवस्था पनि थप गरिएको छ ।