Butwal Today

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : प्रदीप अधिकारीलाई ३ लाख धरौटी तत्काल रिहा नहुने

१९ श्रावण २०८३, मंगलवार
अ+
अ-

काठमाडौं। विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार उक्त आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्का सम्झौताविपरीत ठेकेदार कम्पनीलाई भन्सार तथा राजस्व छुट दिएको आरोपमा अधिकारीविरुद्ध मुद्दा दायर गरेको थियो। तर, धरौटी बुझाए पनि अधिकारी तत्काल रिहा हुने छैनन्। उनी नालिनचोक हेलिप्याड निर्माणसम्बन्धी अर्को भ्रष्टाचार मुद्दामा यसअघि नै पुर्पक्षका लागि थुनामा रहेकाले डिल्लीबजार कारागारमै रहनेछन्।

अख्तियारले गत वैशाखमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। आरोपअनुसार ठेक्का सम्झौतामा निर्माण कम्पनीले राजस्व तिर्नुपर्ने व्यवस्था हुँदाहुँदै त्यसविपरीत छुट दिइएको थियो। यस मुद्दामा अख्तियारले ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गरेको छ।

यसअघि यही प्रकरणमा आरोपित अन्य व्यक्तिहरू पनि धरौटीमा छुटिसकेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित अनियमितताबारे अख्तियारले विभिन्न शीर्षकमा छुट्टाछुट्टै भ्रष्टाचार मुद्दा अघि बढाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?