Butwal Today

प्रतिनिधिसभा: रेबिज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण

१९ श्रावण २०८३, मंगलवार
अ+
अ-
काठमाडौँ ।  प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटना, बाढी पहिरो, चिकित्सक अभाव एवं रेबिज सङ्क्रमणका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको आकस्मिक समयमा नेपाली काँग्रेसका सांसद खड्गबहादुर बुढाले जाजरकोट, डोल्पा र रुकुम पश्चिमका नागरिकले भेरी कोरिडोरको खोलामा पुल निर्माण हुन नसक्दा आवतजावत र ती जिल्लामा खाद्यान्न पुर्‍याउन समस्या भएको भन्दै छिटो निर्माण गर्न सरकारसँग माग गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद लेखजङ्ग थापाले पाँचथर जिल्लाका विभिन्न क्षेत्रमा रेबिज सङ्क्रमण फैलिएको भन्दै रोकथामका लागि सरकारसँग आग्रह गरे । उनले ५० भन्दा बढी जनावरमा लक्षण देखिएको र १५ वटा जनावर मरिसकेको जानकारी गराए ।
नेकपाका सांसद रमेशकुमार मल्लले चिकित्सा शिक्षा आयोगले गत असार ११ गते सार्वजनिक गरेको शैक्षिक क्यालेन्डरअनुसार साउनको पहिलो हप्तामा चिकित्सा शिक्षासम्बन्धी १७ वटा शैक्षिक कार्यक्रमका लागि आवेदनको सूचना सार्वजनिक गर्नुपर्ने भए पनि सरकारले आयोगका पदाधिकारीलाई अध्यादेशमार्फत पदमुक्त गरेपछि अन्योल सिर्जना भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
रास्वपाका सांसद शम्भुकुमार यादवले सुनसरी घटनाको विषयलाई लिएर राज्य सचेत हुनुपर्नेमा जोड दिँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारले ध्यान पुर्‍याउनुपर्ने बताए ।
रास्वपाका सांसद भरत पराजुलीले बिपी राजमार्गमा साउन १८ गते सिन्धुलीमा बस र कार ठोक्किँदा चार जना सवार सुनकोसी नदीमा खसे पनि अहिलेसम्म खोजी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
रास्वपाका सांसद अरबिन्द साहले सुनसरी घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन सरकार सचेत हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?