© 2026
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सुनसरी घटनाको सत्य तथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।
बैठक सुरु हुनासाथ प्रतिपक्ष दलका सांसदहरू उठेपछि बोल्न दिइएको समयमा नेपाली काँग्रेसका सांसद निश्कल राईले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।
उनले सो घटनाका बारेमा सामाजिक सञ्जालमा अफवाह फैलाउने पक्षलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद राईले राज्य प्रत्येक नागरिकको संरक्षक हुने भएकाले सोहीअनुसार भूमिका निर्वाह गरी राष्ट्रिय एकता र सामाजिक सद्भावका पक्षमा सबै एक हुनुपर्नेमा जोड दिए ।
सांसद राईले गत जेठ १७ गते प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिका विषयमा जवाफ आउनुपर्ने र सदनको अभिलेखबाट सो भनाइ हटाउनुपर्ने माग गरे ।
नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले सुनसरी घटनापछि फैलिएको अराजक गतिविधि सबैको प्रयासपछि साम्य भएकामा खुसी व्यक्त गर्दै यस किसिमका घटना पुनः दोहोरिन नदिन र त्यसमा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई विधिको शासन कायम गर्न निष्पक्ष छानबिन हुनुपर्ने धारणा व्यक्त गरे ।
उनले उक्त घटनाका कारण जलेका घर तथा सवारीसाधनको क्षतिपूर्ति दिन सकिने तर व्यवसायीमा परेको मानसिक पीडा कम गर्न नसकिने भएकाले मुलुकलाई दीर्घकालसम्म असर पुर्याउने यस किसिमको संवेदनशील घटनालाई सोहीअनुसार सम्बोधन गर्न सुझाव दिए ।
उनले सुनसरी घटनापछि अहिले मुलुकका औद्योगिक घराना आतङ्कित भएको उल्लेख गर्दै दिगो शान्ति र सुव्यवस्था कायम गर्न दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद बलावती शर्माले सुनसरीमा भएको घटनालाई सबैले मिलेर नियन्त्रणमा ल्याउन गरेको प्रयास निकै सराहनीय भएको भन्दै उक्त घटनाको सत्य तथ्य छानबिन गर्न माग गरिन् ।
उनले पीडित नागरिकले प्रधानमन्त्रीको भौतिक उपस्थिति खोजिरहेको भन्दै सो घटनाप्रति सरकार जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरिन् । उनले पश्चिम नेपालस्थित सुस्तामा भएको भूमि समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै समाधानका पक्षमा पहल गर्न सरकारसँग अनुरोध गरिन् ।
श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङ राईले केही समयअघि जनकपुर मन्दिर क्षेत्रमा आफ्नो पार्टीका नेता–कार्यकर्तामाथि कुटपिट भएको जानकारी गराउँदै त्यस घटनामा संलग्न दोषीमाथि के कस्तो कारबाही भएको छ भन्ने विषयमा जानकारी गराउन माग गरे । उनले सुनसरी घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै आगामी दिनमा त्यस्तो घटना हुन नदिन आवश्यक वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।
एक सांसदले मुसलमान समुदायबाट कहीँ कतै राष्ट्रिय एकता र अखण्डतामा आँच पुग्ने काम नभएको स्पष्ट गर्दै सुनसरीलगायतका क्षेत्रमा भएको घटनाको छानबिन हुनुपर्ने माग गरे ।
उनले सो घटनाको समाधानका लागि गृहमन्त्रीबाट भएको प्रयासको प्रशंसा गर्दै यसअघि हिन्दु राष्ट्र कायम हुँदा यस्तो साम्प्रदायिक घटना नभएको उल्लेख गरे । साथै नेपाललाई धार्मिक सहिष्णुतासहित हिन्दु राष्ट्र बनाउनुपर्ने सुझाव दिए ।