Butwal Today

सडकले जोड्यो गाउँ

१९ श्रावण २०८३, मंगलवार
अ+
अ-

पाल्पा । माथागढी गाउँपालिका–५ ताकातुङका ७२ वर्षीय श्याम ढेंगा मगरले आफ्नो जीवनको अधिकांश समय दुर्गम पहाडी गोरेटो बाटोमा हिँड्दै बिताए । नुन, तेल, खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोगका सामग्री डोकोमा बोकेर पैदल यात्रा गर्नु उनका लागि सामान्य दैनिकी थियो ।

आफ्नै घर आँगनबाट मोटर चढेर केही घण्टामै जिल्ला सदरमुकाम तानसेन पुगिएला भन्ने कल्पनासमेत उनले कहिल्यै गरेका थिएनन् । केही दिनअघि नागरिकताको प्रतिलिपि बनाउन मोटर चढेर तानसेन पुग्दा भने उनलाई त्यो क्षण सपना जस्तै लाग्यो । “पहिले त एक दिनभरि हिँडेपछि मात्रै तानसेन पुगिन्थ्यो,” उनले भने, “अहिले बिहान घरबाट निस्कियो भने तीन घण्टामै सदरमुकाम पुगेर काम सकेर फर्किन सकिन्छ । हामीले त यस्तो दिन देखिन्छ भन्ने कल्पनासमेत गरेका थिएनौँ ।”

खाली खुट्टाले उकालो–ओरालो छिचोल्दै डोकोमा सामान बोकेको विगत सम्झँदै उनी भन्छन्, “पहिला ‘एक रात बाँचे नौ लाख तारा देखिन्छ’ भन्ने उखान जस्तै कठिन जीवन थियो । आज आफ्नै गाउँको धुलाम्मे सडकमा मोटर गुडेको देख्दा समयले कति ठुलो फड्को मारेछ भन्ने महसुस हुन्छ ।”

निस्दी गाउँपालिका–५ बाकामलाङ भोटाहाघाटका ७० वर्षीय टेकबहादुर कुमालको अनुभव पनि उस्तै छ । पहिले नुन किन्न र अन्य सामान ल्याउन डोको बोकेर बुटवल पुग्न दुई दिन लाग्थ्यो । अहिले बिहान घरबाट निस्केर तानसेन वा बुटवल पुग्ने, आवश्यक काम सक्ने र साँझ घर फर्किने सुविधा पुगेको छ ।

“हाम्रो पालामा एक दिनको बाटो अहिले केही घण्टामा छोटिएको छ,” उनले भने, “विकासले साँच्चै फड्को मारेछ । गाउँका युवाले विकास भएन भन्छन्, तर हामीले भोगेको दुःख सम्झँदा अहिलेको परिवर्तन निकै ठुलो हो ।”

उनका अनुसार २०४६ सालको राजनीतिक परिवर्तनपछि देशले विकासको बाटो समात्यो । सडक, यातायात र सञ्चार विस्तार भए पनि महँगी भने लगातार बढ्दै गएको अनुभव उनी सुनाउँछन् ।

निस्दी गाउँपालिका–६ मुढाबासकी ७० वर्षीया भूमिसरा कालुङले चार दशकअघिको संघर्ष अझै बिर्सेका छैनन् । अदुवाको सुठो डोकोमा बोकेर आर्यभञ्ज्याङ बजार पुग्न र घर फर्किन चार दिन लाग्थ्यो । अहिले भने बिहान मोटर चढेर तानसेन पुग्ने, काम सक्ने र साँझ नपर्दै घर फर्कने सुविधा पुगेको छ ।

“खाली खुट्टाले हिँड्दा पैतालाले टेक्नै नसक्ने गोरेटो थियो,” उनले भने, “त्यही बाटो फराकिलो भएर मोटर गुडेको देख्दा अहिले पनि अचम्म लाग्छ ।”
पहाडका ढुङ्गा फुटाएर सडक निर्माण भएको र त्यही सडकमा सवारी गुडिरहेको दृश्यले आफूहरूका लागि असम्भव जस्तै लाग्ने गरेको उनको भनाइ छ । “पहिले प्रविधिको पहुँच थिएन, त्यसैले जीवन निकै कष्टकर थियो। अहिले सडक र प्रविधिले गाउँको दैनिकी नै फेरिदिएको छ,” उनले भने ।

रैनादेवी छहरा गाउँपालिका–४ सिद्धेश्वरका ७८ वर्षीय देवबहादुर सारु भारतीय सेनाबाट अवकाशप्राप्त हुन् । सेवामा रहँदा र अवकाशपछि बिदामा घर आउँदा उनले बुटवलदेखि तानसेन हुँदै दिनौँ पैदल यात्रा गरेको सम्झना सुनाउँछन् ।

“कति पटक त तानसेनबाट भरियाले बाकस बोकेर घरसम्म ल्याइदिन्थे,” उनले भने, “पेन्सन बुझ्न पनि छ–छ महिनामा लामो बाटो पैदल हिँड्नुपर्थ्यो । अहिले आफ्नै घरअगाडिबाट मोटर चढेर तानसेन पुगिन्छ, काम सकिन्छ र त्यही दिन घर फर्किन सकिन्छ ।” उनका अनुसार सडक विस्तारले गाउँको जीवनशैली नै परिवर्तन गरिदिएको छ । “सडकले हाम्रो दुःख बिर्साइदियो । पहिला यात्रा नै सबैभन्दा ठुलो सास्ती थियो, अहिले त्यो सास्ती इतिहास बनेको छ,” उनले भने ।

२०४९ सालपछि स्थानीय निर्वाचनसँगै गाउँ–गाउँमा सडक विस्तारको अभियान सुरु भयो । स्थानीयवासीको श्रमदान र लगानीसँगै ग्रामीण बस्तीलाई सडक सञ्जालसँग जोड्ने होड नै चल्यो । त्यसपछि क्रमशः स्थानीय निकाय, प्रदेश सरकार र सङ्घीय सरकारको लगानीले अधिकांश बस्ती सडकको पहुँचमा पुगे । २०६३ सालमा २०० किलोमिटर रहेको सडकको लम्बाइ अहिले ४५० किलोमिटर बढेर ६५० किलोमिटर पुगेको छ ।

रामपुर नगरपालिकाका प्रमुख रमण थापाका अनुसार विशेष गरी २०७४ सालपछि गठन भएका स्थानीय सरकारले सडक पूर्वाधारलाई विकासको पहिलो प्राथमिकतामा राखे । प्रदेश सरकारले पनि ग्रामीण सडकको स्तरोन्नतिमा लगानी बढाएपछि दुर्गम बस्तीमा यातायातको पहुँच उल्लेखनीय रूपमा विस्तार भएको उनी बताउँछन् ।

रैनादेवी छहरा गाउँपालिका–२ बल्डेङगढीका स्थानीय सुन्दर रायमाझीका अनुसार केही वर्ष अघिसम्म आफ्नै जिल्ला सदरमुकाम तानसेन पुग्न रूपन्देहीको बुटवल हुँदै घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । तर सालझण्डी–सुन्दरेढुङ्गा सडकले निरन्तरता पाएपछि तानसेनसँग गाउँको सिधा सडक पहुँच स्थापित भएको छ ।

“सडक बनेपछि यात्राको दूरी मात्रै छोटिएको होइन, जिल्लासँगको सम्बन्ध पनि नजिकिएको छ,” उनले भने । स्थानीय कृषकहरूका अनुसार सडक विस्तारले आवतजावत मात्र सहज बनाएको छैन, गाउँमा उत्पादन हुने कृषि उपज र पशुपन्छीको बजारीकरणमा पनि ठुलो परिवर्तन ल्याएको छ । पहिले गाउँमै सीमित हुने उत्पादन अहिले सहजै बजारसम्म पुग्न थालेको छ ।

रैनादेवी छहरा गाउँपालिका–३ सोमादीका वडाध्यक्ष दानबहादुर पौडेलका अनुसार गाउँमा उत्पादन हुने दुधको मुख्य बजार तानसेन हो । अहिले दैनिक रूपमा यहाँ उत्पादित दुध तानसेनका होटल, पसल र घर–घरमा पुगिरहेको छ । सडक सञ्जाल विस्तारकै कारण स्थानीय कृषकले उत्पादनको उचित बजार पाएका छन् भने दुग्ध व्यवसाय पनि विस्तार भएको उनी बताउँछन् ।

यद्यपि ग्रामीण बस्ती सडक सञ्जालले जोडिए पनि अर्को चुनौती भने उस्तै गम्भीर बनेको छ । सडक पुगेसँगै शिक्षा, स्वास्थ्य, रोजगारी र अन्य सुविधाको खोजीमा बसाइसराइ बढेकाले कतिपय गाउँ बस्ती सुनसान बन्दै गएका छन् । स्थानीय जनप्रतिनिधिहरूका अनुसार अब सडक निर्माण मात्र होइन, गाउँमै रोजगारी सिर्जना गरी मानिसलाई गाउँमै टिकाइराख्ने नीति आवश्यक भइसकेको छ ।

कुनै समय दिनौँको पैदल यात्रा गरेर मात्रै सदरमुकाम पुग्ने पाल्पाका दुर्गम गाउँका बासिन्दा आज आफ्नै घर आँगनबाट मोटर चढेर केही घण्टामै गन्तव्यमा पुग्न थालेका छन् । सडक विस्तारले उनीहरूको यात्राको दूरी मात्र छोट्टाएको छैन, पुस्तौँदेखि भोग्दै आएको सास्ती, कठिनाइ र अलगावलाई पनि धेरै हदसम्म अन्त्य गरेको छ । त्यसैले पाल्पाका धेरै वृद्ध वृद्धाको अनुभव एउटै छ—“सडकले हाम्रो दुःख बिर्साइदियो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?