Butwal Today

प्रतिनिधिसभाको बैठक बस्दै

१९ श्रावण २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ ।  सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ ।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आव २०८१र८२’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ ।

सांसद आङ्देम्बेले ‘वास्तविक भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनः स्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गरी सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिई उचित क्षतिपूर्ति, स्थायी पुनः स्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवं सुकुम्वासीलाई यथाशीघ्र लालपुर्जा वितरण गराउन आवश्यक भएकाले’ भन्ने विषयको सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त प्रस्तावको समर्थकमा सांसदहरू ऐनबहादुर महर, युवराज दुलाल र आरेन राई रहेका छन् ।

यसैगरी, आज विभिन्न पाँच वटा संसदीय समितिको बैठक पनि बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, राज्य व्यवस्था तथा सुशासन तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ ।

बिहान १०ः०० बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफाबार छलफल जारी रहनेछ ।अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल हुनेछ ।

उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बिहान १०ः०० बजेको बैठकमा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ ।

बिहान ११ः०० बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि सैद्धान्तिक र दफाबार छलफल हुनेछ । साथै, कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदनमाथि पनि छलफल गरिनेछ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिका पूर्व सभापति रामनारायण विडारीसँग सरकारी आश्वासन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?