Butwal Today

राष्ट्रियसभा: जनापेक्षा बमोजिम काम गर्न सरकारलाई आग्रह

१८ श्रावण २०८३, सोमबार
अ+
अ-

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले जनताको विश्वास र अपेक्षाबमोजिम काम गर्न सरकारलाई आग्रह गरेका छन् ।

आज बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसदहरूले जनताले आफ्ना हरेक समस्याको समाधान सरकारबाट अपेक्षा गर्ने भएकाले जनअपेक्षाअनुसार काम गर्न सरकारलाई आग्रह गरेका हुन् ।

नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले जनताले विश्वासका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारको नेतृत्वमा पुर्‍याएकाले जनताको चाहना र भावनाअनुसार काम गर्न आग्रह गरे ।

उनले मुलुकको स्वतन्त्रता र लोकतन्त्रका लागि त्याग र समर्पण गरेका नेताहरूको आदर्शबाट सकारात्मक पाठ सिक्दै जनहितलाई केन्द्रमा राखेर समस्या समाधानतर्फ लाग्नुपर्ने धारणा राखे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद रुक्मिणी कोइरालाले नेपाल बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक साझा फूलबारी भएकाले सबै जातजाति र समुदायबिच समन्वय, सहकार्य र भाइचारा कायम हुनुपर्ने बताइन् ।

उनले सरकारले जनजीवनसँग सम्बन्धित वास्तविक समस्या पहिचान गरी त्यसकै आधारमा राहतमूलक र प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद श्रीकृष्णप्रसाद अधिकारीले सुनसरीसहितका जिल्लामा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरे ।

नेपाली काँग्रेसका सांसद धर्मेन्द्र पासवानले संवाद, मेलमिलाप र समन्वयका माध्यमबाट मुलुकमा शान्ति र समृद्धि कायम गर्न सबै पक्षले ध्यान दिनुपर्ने धारणा राखे । नेकपाका सांसद भुवनबहादुर सुनुवारले मिटरब्याज पीडितहरू अझै माइतीघर मण्डलामा आन्दोलनरत रहेकाले उनीहरूको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

एमालेकी सांसद रेखाकुमारी झाले नेपाल–भारत खुला सीमाको दुरुपयोग गरी हुने चोरीपैठारी तथा आपराधिक गतिविधि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?