© 2026
काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार दिउँसो २ः१० बजे मुग्लिन बजार नजिकै पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको हो ।
पहिरो पन्छाउन एउटा डोजर परिचालन गरिएको छ भने थप दुई वटा उपकरण घटनास्थलतर्फ पठाइएको कार्यालयले जनाएको छ । प्रारम्भिक अनुमानअनुसार पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन करिब ४५ मिनेट लाग्नेछ ।
यसअघि सोमबार बिहान पनि यही सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि केही समय सडक एकतर्फी सञ्चालन गरिएको थियो । त्यसपछि पहिरो हटाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइए पनि पुनः पहिरो खसेपछि सडक फेरि अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालयले वर्षा याममा पहिरोको जोखिम उच्च रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा यात्रा गर्नै परे आवश्यक सतर्कता अपनाउन सबै यात्रुलाई आग्रह गरेको छ ।