काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले समाजमा आपसी सद्भाव कायम राख्न, किसानका समस्या समाधान गर्न, युवाका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न तथा मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद सम्झना देवकोटाले कोसी प्रदेशको सुनसरी र मधेस प्रदेशमा देखिएको साम्प्रदायिक तनाव न्यूनीकरणका लागि सरकार र स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्ने बताइन् ।
उनले युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै समाजमा आपसी सद्भाव कायम गर्न सरकार अग्रसर हुनुपर्ने धारणा राखिन् । सांसद राजेन्द्रलक्ष्मी गैरेले मानव बेचबिखनका नयाँ स्वरूप देखिन थालेको भन्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी रणनीति आवश्यक रहेको बताइन् ।
बेरोजगारीका कारण रोजगारीको खोजीमा विदेश जाने क्रममा महिला, पुरुष तथा बालबालिका हराउने तथा मानव तस्करीको जोखिममा पर्ने घटना बढिरहेको उल्लेख गर्दै उनले यसको रोकथाममा विशेष ध्यान दिन सरकारसँग आग्रह गरिन् ।
उनले लामो समयदेखि समाधान हुन नसकेको सुकुम्वासी समस्यालाई पनि प्राथमिकताका साथ समाधान गर्न सरकारसँग माग गरिन् ।