Butwal Today

स्रोत नखुलेको भारतीय रकमसहित २ जना नियन्त्रणमा

१७ श्रावण २०८३, आइतबार
अ+
अ-

वीरगन्ज (पर्सा) । प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको इलाका प्रहरी कार्यालय जानकी टोलबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा पर्साको जगरनाथपुर गाउँपालिका–२ स्थित नहर सडक खण्डमा ना१०प ४४६९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा स्रोत नखुलेको भारतीय रकम बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार मोटरसाइकलमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका–२ घर भई चितवनको माडी नगरपालिका–९ हनुमानझुला बस्ने ४२ वर्षीय दिपेश हिमडुङ र सोही स्थानका २६ वर्षीय तिलक हिमडुङको खानतलासी गर्दा स्रोत नखुलेको प्रतिबन्धित भारतीय मुद्रा फेला परेको हो ।

उनका अनुसार दुवै जनाको साथबाट भारतीय रु ५०० दरका ३१६ थान, रु २०० दरका ७५ थान र रु १०० दरका ३६५ थान नोट बरामद गरिएको छ । प्रतिबन्धित भारतीय नोटसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा प्रयोग भएको ना१०प ४४६९ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?