Butwal Today

ग्यास नपाएमा निगमको हटलाइन नम्बरमा सम्पर्क गर्नुहोस : नेपाल आयल निगम

१६ श्रावण २०८३, शनिबार
अ+
अ-

काठमाडौं । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट पाँच कम्पनीका ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गरेको छ। निगमले आजदेखि काठमाडौं उपत्यकामा बजारीकरण हुने नेपाल, एचपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासका १४.२ केजी क्षमताका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बिक्री गर्ने व्यवस्था मिलाएको जनाएको छ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार हाल ग्यासको अभाव नभई ७.१ केजीबाट १४.२ केजी सिलिन्डरमा ‘स्विच’ गर्ने क्रममा अस्थायी समस्या देखिएको हो। उनले बढीमा एक साताभित्र ग्यासको बिक्री–वितरण सहज हुने बताए। निगमका अनुसार गत जुलाईमा करिब ४९ हजार मेट्रिकटन एलपी ग्यास आयात भएको थियो। यस्तै, साउन १ देखि १५ गतेसम्म उद्योगीहरूले २६.५ मेट्रिकटन ग्यास आयात गरेका छन्।

यद्यपि, निगमले पर्याप्त आपूर्ति भइरहेको दाबी गरे पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो गरेका छन्। अधिकांश बिक्रेताले उद्योगबाट ग्यास नआएको भन्दै उपभोक्तालाई नाम टिपाएर फर्काइरहेका छन्। निगमले आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण नगर्न उपभोक्तालाई आग्रह गर्दै घरायसी उपभोक्तालाई प्राथमिकता दिन, खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क विवरण राखेर बिक्री गर्न बिक्रेतालाई निर्देशन दिएको छ। साथै, मागअनुसार ग्यासको नियमित आपूर्ति भइरहेको जनाउँदै ग्यास नपाएमा निगमको हटलाइन नम्बरमा सम्पर्क गर्न उपभोक्तालाई अनुरोध गरेको छ।

नेपाल आयल निगमको कार्यालय समयभित्रको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्नुहोला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?