Butwal Today

डोहोटे सामुदायिक वनले विकाससँगै रोजगारी पनि सिर्जना

१६ श्रावण २०८३, शनिबार
अ+
अ-

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ स्थित डोहोटे गाउँले सामुदायिक वनको आम्दानीलाई स्थानीय विकास र रोजगारीसँग जोडेर अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ। वन संरक्षणबाट प्राप्त आम्दानीले गाउँमा विद्युत् विस्तार, सडक, खानेपानी, सिँचाइ, विद्यालय, कृषि प्रवर्द्धन तथा सामाजिक पूर्वाधार निर्माणका काम सम्पन्न भएका छन्।

डोहोटे सामुदायिक वन उपभोक्ता समूहमा ६५ घरधुरी आबद्ध छन्। स्थानीयले संरक्षण गरेको वनबाट काठ तथा दाउरा बिक्री गरी प्राप्त आम्दानीबाट २०७४ अघि नै करिब १८ लाख रुपैयाँ खर्चेर गाउँमा विद्युत् विस्तार गरिएको थियो। सरकारी बजेट नपुगेको अवस्थामा वनकै आम्दानीले गाउँ उज्यालो बनेपछि स्थानीयको जीवनस्तरमा उल्लेखनीय सुधार आएको छ।

समूहले पछिल्ला वर्षहरूमा सडक, खानेपानी, सिँचाइ, विद्यालय भवन, सामुदायिक भवन, कृषि प्रवर्द्धन तथा आयआर्जनका कार्यक्रम सञ्चालन गर्दै आएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा समूहले ६६ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो, जसको अधिकांश रकम गाउँको विकास, शिक्षा, कृषि तथा सामाजिक कार्यक्रमहरूमा खर्च गरिएको समूहका अध्यक्ष रेशमराज बञ्जाडेले जानकारी दिए।

गरिबी न्यूनीकरण कार्यक्रमअन्तर्गत समूहले ७५ वटा सुधारिएको चुलो, किसानलाई हाते ट्याक्टर, बेसारको बीउ, बाख्रा तथा तरकारी र अन्नबालीका बीउ वितरण गरेको छ। शिक्षा क्षेत्रमा पनि समूहले स्थानीय विद्यालयमा शिक्षक व्यवस्थापनका लागि वार्षिक २ लाख ५० हजार रुपैयाँ सहयोग गर्दै आएको छ। साथै विद्यार्थीलाई पोसाक, झोला तथा विद्यालय भवन मर्मतमा समेत आर्थिक सहयोग गरिएको छ।

सामुदायिक भवन स्तरोन्नति, खानेपानी योजना मर्मत, सिँचाइ कुलो निर्माण, विपन्न परिवारका लागि शौचालय निर्माण तथा वन वाटिका विकासमा पनि समूहले लगानी गरेको छ। वन संरक्षणसँगै स्थानीयलाई बाह्रै महिना रोजगारी उपलब्ध भएको छ। झाडी सफा गर्ने, बिरुवा संरक्षण, काठ व्यवस्थापन तथा डढेलो नियन्त्रणजस्ता काममा स्थानीयले दैनिक ८ सय रुपैयाँसम्म ज्याला पाउने गरेका छन्।

डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशब खड्काका अनुसार सामुदायिक वन व्यवस्थापनको यो मोडेलले वन संरक्षण, रोजगारी सिर्जना र स्थानीय विकासलाई एकैसाथ अघि बढाएको छ, जुन अन्य स्थानका लागि पनि अनुकरणीय उदाहरण बन्न सक्छ। हाल वन समूहको कोषमा ५० लाख रुपैयाँ रहेको छ। आगामी दिनमा मलामी विश्रामस्थल, घाटसम्म पुग्ने बाटो, काठेपुल, यात्रु प्रतिक्षालय निर्माण तथा थप वन संरक्षणका कार्यक्रम सञ्चालन गर्ने योजना समूहले बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?