© 2026
इस्लामाबाद । द्विपक्षीय वार्ता जारी रहेका बेला पाकिस्तानले अमेरिका र इरानलाई इस्लामाबाद सम्झौतामा फिर्ता ल्याउने प्रयास गरिरहेको जनाएको छ । पाकिस्तानी स्रोतका अनुसार संयुक्त राज्य अमेरिका र इरानबिचको तनाव कम गर्न कूटनीतिक प्रयास जारी राख्दै दुवै पक्षलाई इस्लामाबाद फर्कन आग्रह गरिएको छ ।
स्ट्रेट अफ होर्मुजको अवस्था सामान्य बनाउन र तनाव कम गर्न दुवै पक्षबिच वार्ता जारी रहेको पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता ताहिर हुसेन अन्द्राबीले पत्रकारसँगको साक्षात्कारमा बताए । पाकिस्तानले आफ्नो प्रतिबद्धता र पाकिस्तान–कतारको संयुक्त वक्तव्यअनुरूप सबै अवरोध हटाउन सकियोस् भन्ने उद्देश्यले दुवै पक्षलाई इस्लामाबाद सम्झौतामा फिर्ता ल्याउन “सक्दो प्रयास” गरिरहेको प्रवक्ता अन्द्राबीले बताए ।
प्रवक्ता अन्द्राबीले हालैका दिनमा तुलनात्मक शान्ति कायम रहे पनि खाडी क्षेत्रको सुरक्षा अवस्था “अनिश्चित” रहेको र पाकिस्तानले वार्ता तथा कूटनीति नै एकमात्र व्यावहारिक मार्ग रहेको विश्वास गरेको बताए । पाकिस्तानले इरान र अमेरिकाबिचको शत्रुता अन्त्य गरी वार्ता पुनः सुरु गर्ने प्रयासलाई स्वागत गरेको बताउँदै उनले क्षेत्रीय शान्ति र स्थिरता प्रवर्द्धन गर्न इस्लामाबादले आफ्नो भूमिका जारी राख्ने बताए ।
हालै क्षेत्रीय शान्ति कायम गर्न पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ र साउदी युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान अल साउदले लाल सागर र स्ट्रेट अफ होर्मुज हुँदै हुने वैध समुद्री व्यापारको निर्बाध प्रवाह सुनिश्चित गर्न समन्वयमा काम गर्ने सहमति गरेको जनाइएको छ । रासस