Butwal Today

चिकित्सा शिक्षा आयोगको रु ६ अर्ब ५५ करोडभन्दा बढीको बजेट स्वीकृत

१३ श्रावण २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३ र ८४ का लागि रु छ अर्ब ५५ करोड २५ लाख ९८ हजार बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले नेपाल सरकारबाट विनियोजित रु पाँच अर्ब ९९ करोड २१ लाख र आयोगको आन्तरिक स्रोतबाट रु ५६ करोड चार लाख ९८ हजार बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको आयोगका सूचना अधिकारी अर्जुन ढकालले जानकारी दिए ।

बैठकले आर्थिक वर्ष २०८२ र ८३ को असार मसान्तसम्म आयोगको आन्तरिक स्रोतमा बचत रहेको रु ९९ करोड ८५ लाख ९६ हजार २६७ तथा चालु आर्थिक वर्षमा विभिन्न आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमानित रु ३५ करोड गरी कुल रु एक अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ मध्ये चालु आर्थिक वर्षका लागि रु ५६ करोड चार लाख ९८ हजार खर्च गर्ने निर्णय गरेको छ ।

स्वीकृत बजेटमध्ये आन्तरिक स्रोतबाट चालुतर्फ रु ४७ करोड ४२ लाख ९८ हजार र पुँजीगततर्फ रु आठ करोड ६२ लाख विनियोजन गरिएको ढकालले बताए ।

बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा। डा। देवेन्द्रबहादुर खत्री तथा आयोगका सदस्यसचिव एवं सहसचिव वसन्तप्रसाद कोइरालालगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?