© 2026
काबुल । अफगानिस्तानमा पछिल्लो चार महिनामा वर्षाजन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु भएको छ भने ४३६ जना घाइते भएका छन् । अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमएं) ले उक्त जानकारी दिएको हो ।
प्राधिकरणका उपप्रवक्ता ताज मोहम्मद हेमतका अनुसार तीव्र आँधीबेहरी, चट्याङसहितको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण विभिन्न क्षेत्रमा ठुलो जनधनको क्षति भएको हो । उनका अनुसार विनाशकारी मौसमी प्रकोपबाट दुई हजार ३२१ वटा आवासीय घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने थप आठ हजार ३६ वटा घरमा आंशिक क्षति पुगेको छ ।
बाढीले ६४४ किलोमिटर ग्रामीण सडक बगाएको छ भने ठुलो परिमाणमा खेतीयोग्य जमिन डुबानमा परेको जनाइएको छ । बाढीका कारण देशभर कुल २४ हजार ३५ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
गर्मी याममा तीव्र खडेरीको सामना गरेको अफगानिस्तानमा वर्षाले राहत पुग्ने अपेक्षा गरिए पनि अत्यधिक वर्षाका कारण आएको विनाशकारी बाढीले विपन्न समुदायमाथि थप सङ्कट सिर्जना गरेको जनाइएको छ । रासस