© 2026
जापान ।
जापानको दक्षिणपश्चिमी क्युसु टापुको कुमामोतो प्रान्तमा मङ्गलबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् । भूकम्पका कारण सपिङ मल, औद्योगिक प्रतिष्ठान, सडक, पुल तथा ऐतिहासिक संरचनामा व्यापक क्षति पुगेको छ । हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ भने उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
स्थानीय समयअनुसार मङ्गलबार अपराह्न ४ः२७ बजे आएको भूकम्प जापानको सिन्डो स्केलमा उच्च स्तरमा मापन गरिएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षण ९युएसजीएस० ले यसको तीव्रता ६।८ म्याग्निच्युड र केन्द्रविन्दुको गहिराइ १० किलोमिटर रहेको जनाएको छ भने जापानी अधिकारीहरूले यसलाई ७।१ म्याग्निच्युडको भूकम्प बताएका छन् ।
जापानका सम्बन्धित अधिकारीहरूले मृत्यु हुने सबै व्यक्तिको मृत्यु प्रत्यक्ष रूपमा भूकम्पकै कारण भएको हो वा होइन भन्ने विषयमा अझै पुष्टि भइरहेको बताएका छन् । प्रारम्भिक विवरणअनुसार सात जना गम्भीर घाइते भएका छन् भने अन्य घाइतेहरूको उपचार भइरहेको छ ।
सबैभन्दा ठूलो क्षति कासिमा सहरस्थित एउटा सपिङ मलमा भएको छ । सरकारी स्रोतका अनुसार भूकम्पपछि ग्यास विस्फोट हुँदा भवनको छाना र पर्खाल भत्किएका थिए । मल सञ्चालक कम्पनी एओनका प्रवक्ताले ग्राहक र कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएपछि विस्फोट भएको जानकारी दिए ।
स्थानीय प्रशासनका अनुसार मलबाट आठ जनाको उद्धार गरिएको छ । तीमध्ये पाँच जना घाइते भएका छन् । प्रारम्भिक अनुमानमा २० देखि ३० जना भवनभित्र फसेको आशङ्का गरिएको भए पनि प्रहरीले वास्तविक सङ्ख्या त्योभन्दा कम रहेको जनाएको छ । भवनभित्र अझै केही कर्मचारी फसेको पुष्टि भए पनि उद्धार टोलीले सुरक्षित प्रवेश मार्ग बनाउन नसकेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ ।
यात्सुशिरोस्थित निप्पोन पेपर इन्डस्ट्रिजको कारखानामा पनि ठूलो क्षति पुगेको छ । कारखानाको धुवाँ निकाल्ने संरचनाको एक भाग भत्किएको छ भने स्थानीय सरकारले त्यहाँ कार्यरत नौ जनाको अवस्थाबारे अझै जानकारी प्राप्त हुन नसकेको जनाएको छ ।
भूकम्पका कारण कुमामोतो क्षेत्रमा आगलागी, भवन भत्किने, सडक चर्किने, पुलमा क्षति पुग्ने तथा मालवाहक रेल पल्टिने घटना भएका छन् । एउटा पैदल यात्रु पुलको एक भाग भत्किएर नदीमा खसेको अधिकारीहरूले बताएका छन् । कुमामोतो विमानस्थल केही घण्टा बन्द गरिएपछि पुनः सञ्चालनमा ल्याइएको छ भने सिङ्कानसेन उच्चगतिको रेल सेवा अस्थायी रूपमा स्थगित गरिएको थियो । धेरै सडक अझै बन्द छन् ।
बुधबार बिहानसम्म कुमामोतो क्षेत्रमा ३६ हजार ८८० घर तथा अन्य संरचनामा विद्युत् आपूर्ति अवरुद्ध रहेको छ । जापानी रक्षा मन्त्रालयले विपद् व्यवस्थापन तथा उद्धार कार्यका लागि तीन हजार ६०० सैनिक परिचालन गरेको छ । क्षतिको हवाई मूल्याङ्कन गर्न २० वटा सैन्य विमानसमेत परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।
भूकम्पका बेला कुमामोतोस्थित कार्यालयमा कार्यरत ३५ वर्षीया चिहारू हाराले कार्यालय निकै तीव्र रूपमा हल्लिँदा भवन नै ढल्ने हो कि भन्ने डर लागेको बताइन । उनका अनुसार कार्यालयमा रहेका सबै कर्मचारी त्रसित बनेका थिए ।
एएफपीले प्रमाणित गरेको भिडियोमा सडकमा गुडिरहेका भारी सवारीसाधन, ट्राफिक बत्ती र सडकबत्ती तीव्र रूपमा हल्लिएको देखिएको छ । कतिपय स्थानमा सडक चर्किएका कारण सवारीसाधन सावधानीपूर्वक सञ्चालन गरिएको थियो । सुरक्षा क्यामेराका दृश्यमा ऐतिहासिक कुमामोतो महलको पर्खालका केही भाग पनि भत्किएको देखिएको छ ।
प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित जापान विश्वकै सबैभन्दा बढी भूकम्प आउने मुलुकमध्ये एक हो । चार प्रमुख टेक्टोनिक प्लेटको सङ्गमस्थलमा रहेको यस देशमा हरेक वर्ष सयौँ भूकम्प जाने गर्छन् । विश्वभर हुने करिब १८ प्रतिशत भूकम्प जापान वरपरकै क्षेत्रमा आउने वैज्ञानिकहरूको तथ्याङ्क छ ।
सन् २०११ मा जापानमा आएको ९।० म्याग्निच्युडको विनाशकारी भूकम्प र त्यसपछि आएको सुनामीमा करिब १८ हजार ५०० जनाको ज्यान गएको थियो । उक्त विपद्ले फुकुसिमा आणविक विद्युत् केन्द्रमा गम्भीर दुर्घटना निम्त्याएको थियो ।