© 2026
गुल्मी । नेपालमा कफी खेतीको जन्मस्थलका रूपमा परिचित गुल्मीमा पछिल्लो समय व्यावसायिक कफी खेतीले नयाँ गति लिएको छ ।
इतिहासको गर्व बोकेको जिल्लाले अहिले आधुनिक कृषि प्रविधि, अनुसन्धान, सरकारी सहयोग र युवा उद्यमशीलताको बलमा कफी उत्पादनको नयाँ अध्याय सुरु गरेको छ । विशेष गरी मुसिकोट नगरपालिका–५ आँपचौरमा युवा कृषक श्रीधर पाण्डेको पहलले जिल्लामा कफी खेतीको विस्तारप्रति नयाँ उत्साह थपिएको छ ।
नेपालमा पहिलो पटक कफीको बीउ रोपिएको स्थानका रूपमा चिनिने आँपचौरमा स्थापना गरिएको आँपचौर कफी एण्ड एग्रो रिसर्च प्रालि मार्फत श्रीधर पाण्डेले दुई वर्षयता ठुलो परिमाणमा व्यावसायिक कफी खेती गरिरहेका छन् ।
हालसम्म करिब ५०० रोपनी क्षेत्रफलमा कफी विस्तार गरिसकेका उनले यस वर्ष मात्रै ६० हजार कफीका बिरुवा उत्पादन गरेका छन् । आगामी वर्ष डेढ लाखभन्दा बढी बिरुवा उत्पादन गर्ने लक्ष्यका साथ नर्सरी विस्तार भइरहेको छ ।
पाण्डेको योजना अझ महत्त्वाकाङ्क्षी छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली अर्ग्यानिक कफीको बढ्दो मागलाई अवसरका रूपमा लिँदै उनले आगामी केही वर्षभित्र कम्तीमा पाँच हजार रोपनी क्षेत्रफलमा कफी खेती विस्तार गर्ने दीर्घकालीन लक्ष्य लिएका छन् । उनका अनुसार नेपाली कफी स्वाद, सुगन्ध गुणस्तरका कारण अन्तर्राष्ट्रिय बजारमा विशिष्ट पहिचान बनाउन सफल भइरहेको छ ।
“नेपालको अर्ग्यानिक कफी विश्व बजारमा प्रिमियम उत्पादनका रूपमा स्थापित हुँदै गएको छ । गुणस्तरीय उत्पादन र वैज्ञानिक व्यवस्थापन गर्न सके कफी खेती ग्रामीण अर्थतन्त्र परिवर्तन गर्ने प्रमुख नगदे बाली बन्न सक्छ,“ पाण्डेले भने ।
गुल्मी केवल कफी उत्पादन गर्ने जिल्ला मात्र होइन, नेपालमा कफी खेती सुरु भएको ऐतिहासिक भूमि पनि हो । इतिहासअनुसार वि.सं. १९९५ मा हिरा गिरीले तत्कालीन बर्मा (हाल म्यानमार) बाट ल्याएको कफीको बीउ मुसिकोट–५ आँपचौरमा रोपेपछि नेपालमा पहिलो पटक कफी खेती सुरु भएको मानिन्छ ।
त्यसयता गुल्मीले नेपाली कफीको विकास, विस्तार र प्रवद्र्धनमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ । यही ऐतिहासिक महत्वका कारण जिल्लामा कफी विकास बोर्डको गतिविधि विस्तार हुनुका साथै अनुसन्धानलाई संस्थागत गर्न कफी अनुसन्धान कार्यक्रम कार्यालयसमेत स्थापना गरिएको छ ।
भण्डारीडाँडामा वि.सं. २०७१ मा स्थापना भएको कफी अनुसन्धान कार्यक्रम कार्यालयले नयाँ जात परीक्षण, रोग व्यवस्थापन, उत्पादन वृद्धि, गुणस्तर सुधार तथा किसानलाई प्राविधिक परामर्श दिने काम निरन्तर गरिरहेको छ । अनुसन्धान केन्द्रका कारण किसानले उन्नत बिरुवा, आधुनिक प्रविधि आवश्यक प्राविधिक सेवा सहज रूपमा पाउन थालेका छन् ।
कफी खेती विस्तारमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन हिकाइ, गुल्मीले पनि सक्रिय भूमिका खेलिरहेको छ । कार्यालय प्रमुख नवराज पण्डितका अनुसार पछिल्ला वर्षहरूमा सञ्चालन गरिएका क्षेत्र विस्तार कार्यक्रमले जिल्लामा कफी खेतीको क्षेत्रफल उल्लेखनीय रूपमा बढाएको छ ।
“हामीले चक्लाबन्दी प्रणालीमार्फत आधुनिक शैलीको कफी खेतीलाई प्रोत्साहन गरेका छौं । यसले उत्पादन लागत घटाउने, व्यवस्थापन सहज बनाउने उत्पादकत्व वृद्धि गर्ने अपेक्षा छ,” उनले भने ।
उनका अनुसार कार्यालयले बिरुवा उत्पादनदेखि बगान व्यवस्थापन, प्रशोधन, ब्रान्डिङरबजारीकरणसम्म किसानलाई आवश्यक प्राविधिक तथा संस्थागत सहयोग गर्दै आएको छ । कफी खेतीलाई पूर्ण व्यावसायिक बनाउन आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको उनको भनाइ छ ।
हाल गुल्मीमा करिब २७० हेक्टर क्षेत्रफलमा कफी खेती भइरहेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममार्फत हालसम्म थप १५० हेक्टर क्षेत्र विस्तार गरिएको छ भने चालु वर्षमा मात्रै थप ४० हेक्टर क्षेत्रमा कफी खेती विस्तार हुने अनुमान गरिएको छ ।
जिल्लाभर करिब एक हजार ८०५ कृषक प्रत्यक्ष रूपमा कफी खेतीमा आबद्ध छन् । उत्पादन वर्षेनी बढ्दै गए पनि अन्तर्राष्ट्रिय तथा स्वदेशी बजारको मागअनुसार अझै पर्याप्त उत्पादन हुन नसकेको कृषि कार्यालयको तथ्याङ्कले देखाउँछ ।
नेपाली कफीको बजार अहिले स्वदेशमा मात्र सीमित छैन । पछिल्ला वर्षहरूमा युरोप, अमेरिका, जापान, दक्षिण कोरियालगायत मुलुकमा नेपाली अर्ग्यानिक कफीको माग उल्लेखनीय रूपमा बढेको छ । रासायनिक मल तथा विषादीको न्यून प्रयोग, उच्च पहाडी क्षेत्रको अनुकूल हावापानीरप्राकृतिक विधिबाट उत्पादन गरिने भएकाले नेपाली कफीलाई अन्तर्राष्ट्रिय बजारले उच्च मूल्य प्राथमिकता दिने गरेको व्यवसायीहरू बताउँछन् ।
गुल्मीमा उत्पादित कफीको बजारीकरणमा हालसम्म उल्लेख्य समस्या नरहेको कृषकहरूको अनुभव छ । उत्पादन हुने अधिकांश कफी सहज रूपमा बिक्री हुने माग निरन्तर बढिरहेकाले नयाँ किसान पनिa यस खेतीतर्फ आकर्षित भइरहेका छन् ।
उज्ज्वल सम्भावनाका बाबजुद कफी खेती चुनौतीमुक्त भने छैन । विशेष गरी कफी बगानमा देखिने सेतो गबारो रोग किसानका लागि मुख्य समस्या बनेको छ । समयमै नियन्त्रण गर्न नसके उत्पादनमा उल्लेख्य क्षति पुग्ने कृषि प्राविधिकहरू बताउँछन् ।
त्यसै गरी कफी दीर्घकालीन नगदे बाली भएकाले रोपेको तीनदेखि चार वर्षपछि मात्र उत्पादन दिन सुरु गर्छ । तत्काल आम्दानी खोज्ने कृषकहरू तरकारी, अदुवा, बेसार वा अन्य नगदे बालीतर्फ आकर्षित हुने गरेका कारण केही क्षेत्रमा कफी खेती विस्तार अपेक्षाअनुसार हुन सकेको छैन ।
कृषि विज्ञहरूका अनुसार रोग व्यवस्थापन, गुणस्तरीय बिरुवा, वैज्ञानिक बगान व्यवस्थापन, प्रशोधन मूल्य अभिवृद्धिमा विशेष ध्यान दिन सके कफी खेती अझ लाभदायक बन्न सक्छ ।
युवा कृषक श्रीधर पाण्डेजस्ता उद्यमीको पहलले गुल्मीमा कफी खेतीको नयाँ लहर सिर्जना हुने अपेक्षा गरिएको छ । ठुलो परिमाणमा बगान विस्तारसँगै बिरुवा उत्पादन, प्रशोधन, प्याकेजिङ, ढुवानी बजारीकरणमा स्थानीय स्तरमै रोजगारी सिर्जना हुने विश्वास गरिएको छ ।
कफी खेतीले ग्रामीण क्षेत्रको बाँझो जमिनको सदुपयोग, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई कृषि उद्यममा आकर्षित गर्ने तथा स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण योगदान पु¥याउने देखिएको छ ।
ऐतिहासिक पृष्ठभूमि, उपयुक्त हावापानी, अनुसन्धान केन्द्रको उपलब्धता, सरकारी कार्यक्रम, निजी क्षेत्रको लगानी र अन्तर्राष्ट्रिय बजारको सुनिश्चित मागलाई हेर्दा गुल्मीलाई आगामी दिनमा नेपालको ‘कफी राजधानी’ का रूपमा विकास गर्न सकिने आधार बलियो बन्दै गएको सरोकारवालाहरू बताउँछन् ।
यसका लागि किसान, स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकार, अनुसन्धान संस्था निजी क्षेत्र बिच प्रभावकारी समन्वय आवश्यक रहेको उनीहरूको भनाइ छ। उत्पादन, उत्पादकत्व, प्रशोधनरब्रान्डिङमा थप लगानी गर्न सके नेपाली कफीले विश्व बजारमा अझ सशक्त पहिचान बनाउने विश्वास गरिएको छ ।
गुल्मीमा देखिएको कफी खेतीको यो नयाँ लहर केवल एउटा जिल्लाको कृषि अभियान मात्र होइन, नेपाली कृषिलाई मूल्य अभिवृद्धियुक्त, निर्यातमुखी र दिगो अर्थतन्त्रतर्फ डो¥याउने सम्भावनाको सङ्केत पनि हो । उचित नीति, निरन्तर अनुसन्धान र किसानमैत्री लगानीले कफीलाई ग्रामीण समृद्धिको प्रमुख आधार बनाउन सकिने आधारहरू दिनप्रतिदिन बलिया बन्दै गएका छन् ।