Butwal Today

भेरी अस्पतालमा ५० शैयाको समता भवन निर्माण गर्ने मन्त्री खत्रीको घोषणा 

१२ श्रावण २०८३, मंगलवार
अ+
अ-

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले भेरी अस्पतालमा आगामी आर्थिक वर्षभित्र ५० शैयाको ‘समता भवन’ निर्माण गरिने घोषणा गरेका छन् ।
आमा तथा नवजात शिशुलाई थप सुरक्षित, सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त भवन निर्माण गर्न लागिएको उनले बताएका हुन्।

भेरी अस्पतालको १३६औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री खत्रीले आमा मृत्युदर र शिशु मृत्युदर न्यूनीकरणका लागि समता भवनको निर्माण महत्त्वपूर्ण हुने बताए। मातृ तथा नवजात शिशुको उपचार, स्याहार र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन भवनले महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास थियो।

उनले कोभिड–१९ महामारीपछि भेरी अस्पतालले स्वास्थ्य सेवा प्रवाहमा उल्लेखनीय सुधार र विस्तार गरेको उल्लेख गर्दै अस्पतालले पश्चिम नेपालका लाखौँ नागरिकको भरोसाको केन्द्रका रूपमा आफूलाई स्थापित गरेको बताए। अस्पतालको बढ्दो जिम्मेवारीलाई मध्यनजर गर्दै यसको भौतिक पूर्वाधार, सेवा क्षमता र जनशक्ति व्यवस्थापनलाई थप सुदृढ बनाउन प्रदेश सरकारले निरन्तर लगानी गरिरहेको उनले बताए।

मन्त्री खत्रीका अनुसार भेरी अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापनका लागि लुम्बिनी प्रदेश सरकारले प्रत्येक वर्ष करिब दुईदेखि साढे दुई करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। अस्पताललाई आवश्यक दक्ष जनशक्ति, सेवा विस्तार तथा पूर्वाधार विकासका क्षेत्रमा आगामी दिनमा पनि प्रदेश सरकारको सहयोग निरन्तर रहने उनले प्रतिबद्धता व्यक्त गरे।

भेरी अस्पताल पश्चिम नेपालको प्रमुख रेफरल अस्पतालका रूपमा बाँकेसहित बर्दिया, दाङ, सुर्खेत, सल्यान, रुकुम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आउने बिरामीलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै मन्त्री खत्रीले अस्पताललाई अझ आधुनिक, व्यवस्थित र प्रभावकारी स्वास्थ्य संस्थाका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

उनले प्रदेश सरकार र अस्पतालबिचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै नागरिकले आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सिर्जना गरिने विश्वाससमेत व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?