© 2026
काठमाडौँ । प्राङ्गारिक मलको प्रयोग बढाउने उद्देश्यले कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरी किसानको दैलोमा पुगेकी छन् ।
धनुषाका विभिन्न कृषि क्षेत्रको अवलोकनका क्रममा मन्त्री चौधरीले महिला कृषकद्वारा सञ्चालित कस्टम हायरिङ सेन्टर, माछा पालन फार्म तथा आँप बगैँचाको निरीक्षण गरेकी हुन् । कृषिमन्त्री चौधरीले किसानको खेतमै पुगेर स्थानीय स्रोतबाट उत्पादन हुने गोठे मल, प्राङ्गारिक मललगायत जैविक मलको प्रयोग बढाउन आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ ।
उनले रासायनिक मलमाथिको निर्भरता घटाएर दीर्घकालीन रूपमा माटोको उर्वराशक्ति संरक्षण तथा सुधार गर्न सकिने बताएकी छन् । अवलोकनका क्रममा मन्त्री चौधरीले धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडअन्तर्गत सञ्चालित कस्टम हायरिङ सेन्टरको निरीक्षण गरेकी थिइन् ।
यसै गरी, उनले बटेश्वर गाउँपालिका–५, शान्तिपुरस्थित अन्नपूर्ण माछा पालन कम्पनी प्रालि तथा चित्रनगरस्थित आँप बगैँचाको समेत अवलोकन गरेकी छन् ।