© 2026
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा डेनियल म्युउली मोन्टेलियोनले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।
भेटका अवसरमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले सन् १९५६ मा नेपाल र स्वीट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबिचको सम्बन्ध सधैँ सौहार्दपूर्ण, मैत्रीपूर्ण र सहयोगमा आधारित रहँदै आएको उल्लेख गरे । उनले द्विपक्षीय उच्चस्तरीय भ्रमणहरूले दुई देशबिचको सम्बन्धलाई थप सुदृढ बनाएको बताए ।
यादवले नेपालको शान्ति प्रक्रियामा स्वीस सरकारको निरन्तर सहयोग र सद्भावप्रति नेपालका तर्फबाट कृतज्ञता व्यक्त गरे । उनले स्वीस विकास तथा सहयोग नियोग (एसडीसी) को प्राथमिकतामा नेपाललाई राखिएकोमा खुसी व्यक्त गर्दै भूकम्पपछिको पुनर्निर्माण, झोलुङ्गे पुल निर्माण, रोजगारी सिर्जना तथा प्राविधिक सहयोगले नेपाललाई ठुलो सहयोग पुगेको उल्लेख गरे ।
राजदूत डा। मोन्टेलियोनले नेपाल र स्वीट्जरल्याण्डबीचको कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले स्वीस सरकार नेपालको उद्योगलगायत विभिन्न क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए ।