Butwal Today

ट्राफिक सुधार्न ‘पहिला तिमी’ भन्ने संस्कार आवश्यक: राजेश हमाल

८ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमाडौं । कलाकार राजेश हमालले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नागरिकको उत्तरदायित्व र ट्राफिक प्रहरीको कर्तव्यबीच बलियो समन्वय आवश्यक रहेको बताएका छन् ।

शुक्रबार मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सडक व्यवस्थापन ट्राफिक प्रहरीको मात्र नभई आम नागरिकको पनि साझा जिम्मेवारी भएको बताए ।

हमालले समयसँगै सवारीसाधनको संख्या उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा भौतिक पूर्वाधारको विकास हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे । समयसापेक्ष पूर्वाधार निर्माण र आधुनिक प्रविधिको प्रयोग गर्न सके सडक व्यवस्थापन अझ व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो ।

ट्राफिक प्रहरीको कार्यकुशलताको प्रशंसा गर्दै उनले नागरिकले पनि आफ्नो जिम्मेवारी उत्तिकै गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए । सडकमा देखिने अनावश्यक हतारो र अव्यवस्थित प्रवृत्तिले ट्राफिक समस्या झन् जटिल बनाएको उल्लेख गर्दै उनले सवारी चालक र पैदलयात्री दुवैको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताए ।

उनले सबैले एकैपटक अघि बढ्न खोज्दा सडकमा अव्यवस्था र जाम बढ्ने भएकाले ‘पहिला म’ भन्दा ‘पहिला तिमी’ भन्ने संस्कार विकास गर्नुपर्ने धारणा राखे ।

सडक विस्तार मात्र ट्राफिक समस्याको समाधान नभएको उल्लेख गर्दै हमालले चुस्त र प्रभावकारी व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताए । कतिपय विकसित मुलुकमा नेपालभन्दा साँघुरा सडक भए पनि प्रभावकारी व्यवस्थापनका कारण सवारी आवागमन सहज रहेको उदाहरण दिँदै उनले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई अझ व्यवस्थित र प्रविधिमैत्री बनाउन सुझाव दिए ।

ट्राफिक नियमको पालना गर्नु सबैका लागि हितकर हुने उल्लेख गर्दै उनले यसलाई ‘दुवै पक्षको जित’ हुने अवस्था भएको बताए । नियमको पालना गर्दा नागरिक र ट्राफिक प्रहरी दुवैको समय बचत हुनुका साथै सडक सुरक्षा पनि सुनिश्चित हुने उनको भनाइ थियो ।

हमालले काठमाडौंको ट्राफिक व्यवस्थापन सुधारका लागि समाजका सबै तह र तप्काको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै सबै सरोकारवालालाई जिम्मेवार, अनुशासित र मर्यादित बन्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?