© 2026
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले चीनसहित ६० व्यापारिक साझेदारमाथि नयाँ आयात शुल्क लागू गरेपछि चीनले त्यसको कडा विरोध गर्दै वासिङ्टनलाई व्यापार युद्धको बाटो नसमाउन चेतावनी दिएको छ । बेइजिङले एकपक्षीय कर नीतिले विश्व व्यापारमा थप तनाव निम्त्याउने जनाएको छ ।
अमेरिकाले शुक्रबारदेखि लागू गरेको नयाँ शुल्क १० देखि १२.५ प्रतिशतसम्म रहेको छ । चीनलाई सबैभन्दा उच्च १२।५ प्रतिशत शुल्कको दायरामा राखिएको छ । अमेरिकी प्रशासनले जबरजस्ती श्रमसम्बन्धी चिन्तालाई आधार बनाएर यो निर्णय गरेको जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा सबै प्रकारका एकपक्षीय शुल्क व्यवस्थाको चीनले विरोध गर्ने स्पष्ट पारे । उनले व्यापार युद्ध वा शुल्क युद्ध कुनै पनि पक्षको हितमा नहुने भन्दै यस्ता कदमले सहकार्यभन्दा द्वन्द्वलाई बढवा दिने चेतावनी दिए ।
यता अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले संयुक्त राज्य अमेरिकाले लामो समयदेखि जबरजस्ती श्रमबाट उत्पादित वस्तुको आयातमा कडा प्रतिबन्ध लगाउँदै आएको उल्लेख गर्दै व्यापारिक साझेदारहरूले पनि त्यही स्तरको प्रतिबद्धता देखाउनुपर्ने समय आएको बताए ।
नयाँ व्यवस्था यस वर्षको सुरुआतमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको अस्थायी विश्वव्यापी आयात शुल्कको स्थानमा आएको हो । फेब्रुअरीमा अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपतिको केही शुल्कसम्बन्धी अधिकार सीमित गरेपछि ट्रम्प प्रशासनले नयाँ कानुनी आधारमा शुल्क नीति पुनः लागू गरेको हो ।
घोषणाअनुसार क्यानडा, युरोपेली सङ्घ (इयू) र संयुक्त अधिराज्यजस्ता जबरजस्ती श्रमसम्बन्धी प्रतिबन्ध लागू गरेका मुलुकलाई १० प्रतिशत शुल्क लगाइएको छ । चीन, भारत, जापानलगायतका प्रमुख व्यापारिक साझेदारमाथि भने १२.५ प्रतिशतसम्मको उच्च शुल्क लागू गरिएको छ ।
गत वर्ष लामो व्यापारिक तनावपछि राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटवार्तापछि दुवै देशबिचको व्यापार विवाद केही समयका लागि मत्थर भएको थियो । यस वर्ष ट्रम्पको बेइजिङ भ्रमणपछि दुवै पक्षले शुल्क घटाउने दिशामा काम गर्ने सङ्केत दिएका थिए । तर पछिल्लो अमेरिकी निर्णयले दुई देशबिचको व्यापारिक तनाव पुनः चर्किने सम्भावना बढाएको विश्लेषण गरिएको छ ।