© 2026
काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । नयाँ मूल्य साउन ६ गतेदेखि लागू हुने सङ्घले जनाएको छ ।
मंगलबार चितवनमा बसेको सङ्घको बैठकले देशभरिका अण्डा उत्पादकको राय, सुझाव र सिफारिसका आधारमा नयाँ दररेट तय गरेको हो । यसअघि जेठ २८ गते निर्धारण गरिएको मूल्यको तुलनामा फार्म मूल्यमा प्रति क्रेट ६० रुपैयाँसम्म कमी गरिएको छ ।
सङ्घका अनुसार यसअघि जेठ २८ गते काठमाडौँमा बसेको बैठकले तोकेको मूल्यलाई परिमार्जन गर्दै पुनः चितवनलाई आधार मानेर नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरिएको हो ।
नयाँ दररेटअनुसार सबैभन्दा ठुलो (एक्सएल) साइजको अण्डाको फार्म मूल्य प्रति क्रेट ५१५ रुपैयाँ कायम गरिएको छ । यसअघि यसको मूल्य ५७५ रुपैयाँ थियो ।
त्यस्तै, ठुलो ९एल० साइजको अण्डाको मूल्य प्रति क्रेट ५६० रुपैयाँबाट घटाएर ५०० रुपैयाँ कायम गरिएको छ । मिडियम साइजको अण्डाको मूल्य ५३० रुपैयाँबाट घटाएर ४७० रुपैयाँ निर्धारण गरिएको छ । यी तीनै वर्गका अण्डाको मूल्यमा प्रति क्रेट ६० रुपैयाँले कमी आएको छ ।
सानो (स्मल) साइजको अण्डाको मूल्य पनि घटाइएको छ । यसको मूल्य प्रति पेटी ३ हजार २०० रुपैयाँबाट घटाएर २ हजार ९०० रुपैयाँ कायम गरिएको छ, अर्थात् प्रति पेटी ३०० रुपैयाँले कमी आएको छ ।
फार्म मूल्यमा उल्लेख्य गिरावट आए पनि उपभोक्ताले बजारमा खरिद गर्ने खुद्रा मूल्य भने यथावत् राखिएको छ । हाल उपभोक्ताले प्रति गोटा २५ रुपैयाँमै अण्डा खरिद गर्न सक्नेछन् ।