Butwal Today

८ महिनाकै न्यून बिन्दुमा झर्‍यो नेप्से, कारोबार रकम भने बढ्यो

२९ असार २०८३, सोमबार
अ+
अ-

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब आठ महिनाकै न्यून बिन्दुमा झरेको छ । यस दिन नेप्से ३०.६० अंकले घटेर २,५७०.५४ विन्दुमा कायम भएको छ ।

नेप्सेको यो स्तर गत मंसिर ४ यताकै सबैभन्दा न्यून हो । उक्त दिन नेप्से २,५६० अंकमा रहेको थियो ।

बजारमा उच्च गिरावट आए पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम वैशाख ९ यताकै उच्च हो ।

सोमबार कारोबार अवधिभर बजार राताम्मे रह्यो । २२ कम्पनीको शेयर मूल्य बढ्दा २४९ कम्पनीको मूल्य घट्यो भने चार कम्पनीको मूल्य स्थिर रह्यो ।

सबै समूहगत परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी गिरावट व्यापार समूहमा देखिएको छ, जसको परिसूचक २.३० प्रतिशतले घटेको छ ।

बैंकिङ समूह ०.६८ प्रतिशत, विकास बैंक ०.८३ प्रतिशत, फाइनान्स १.३२ प्रतिशत, होटल तथा पर्यटन १.९९ प्रतिशत, जलविद्युत् १.९८ प्रतिशत, लगानी ०.८८ प्रतिशत, जीवन बीमा १.०७ प्रतिशत, उत्पादन तथा प्रशोधन १.३६ प्रतिशत, माइक्रोफाइनान्स ०.८७ प्रतिशत, निर्जीवन बीमा ०.७५ प्रतिशत तथा अन्य समूह ०.८५ प्रतिशतले घटेका छन् ।

कारोबार भएका कम्पनीमध्ये सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५.३७ प्रतिशत तथा आत्मनिर्भर लघुवित्तको ५ प्रतिशतले बढेको छ । उपकार लघुवित्तको शेयर मूल्य भने सबैभन्दा धेरै ११.२८ प्रतिशतले घटेको छ ।

त्यसैगरी, बुद्धभूमि हाइड्रोपावरको शेयर मूल्य ७.४७ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावरको ६.५१ प्रतिशत, हिमस्टार ऊर्जाको ६.४२ प्रतिशत तथा टक्सार पिखुवाखोला हाइड्रोपावरको ६.२४ प्रतिशतले घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा भने ऋणपत्रहरू अग्रस्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?