Butwal Today

शिक्षा सुधारका मुद्दा र समाधानका उपाय– २

२५ असार २०८३, बिहीबार
अ+
अ-

पाठ्यक्रम र पाठ्यपुस्तकको स्तरले पनि गुणस्तरमा प्रभाव पार्दछ । नेपालमा केन्द्रिकृत एकल पाठ्यक्रम र पाठ्यपुस्तकमा भने सिमित रोजाइको अवसर छ ।

विभिन्न भूगोल, समुदाय, पूर्व ज्ञानको स्तर, सिकाइ वातावरण भएका विद्यार्थीहरूले एउटै प्रकारका सामग्री अध्ययन गर्नुपर्ने भएकोले र एसइइ तथा एसएलसी परीक्षामा केन्द्रबाट बितरित प्रश्नहरू समाधान गरी उतीर्ण हुनुपर्ने बाध्यताका कारण कतिपय विद्यालयमा विद्यार्थीको स्तर र तोकिएको सामग्री विच अन्तर छ । यसको समाधानका लागि विद्यार्थीलाई पहिलेका वर्षमा सोधिएका प्रश्नहरूको उत्तर लेखन अभ्यास गर्नु तत्कालको समाधान हुनसक्छ । तर शिक्षा मन्त्रालयले पाठ्यक्रमसम्बन्धी अप्ठेरो सुधार गर्नुपर्दछ ।

यी समस्याहरूको समाधान गर्न सक्यौं भने मात्र शिक्षाको गुणस्तरमा बृद्धि हुनसक्छ । त्यसका लागि विद्यालयको अवस्थाअनुसार समाधान खोज्नु आवश्यक छ । विद्यालयले कमजोर विद्यार्थीका लागि परीक्षाकेन्द्रित अभ्यासमा ध्यान दिनु पर्छ । परीक्षामा सोध्न सकिने सम्भावित प्रश्नहरू निर्माण गरी ती प्रश्नहरू समाधान गर्ने र अभ्यास गरेर वा घोकेर भएपनि उत्तर लेख्न सक्ने बनाउनु आवश्यक छ ।

परीक्षा र पुनः परीक्षा लिनु आवश्यक छ । विद्यार्थीकोअवस्था र विषयवस्तुको कठीनाइ विश्लेषण गरी जटील विषयवस्तु समाधान गर्न नसक्ने कमजोर विद्यार्थीलाई तुलनात्मक रूपमा बढी समय दिनु पर्दछ । राम्रा विद्यार्थीबाट उच्चस्तरको नतिजा ल्याउनका लागि थप अभ्यास सामग्री अभ्यास गराउने, कक्षा १० र १२ का विद्यार्थीलाई बिहान र साँझसमेत अतिरिक्त शिक्षण र शिक्षकको निगरानीमा परीक्षा तयारीको ब्यवस्था मिलाउनु आवश्यक छ ।

नमूना र पूर्व परीक्षण भएका प्रश्नहरू अभ्यास, नमुना एसइइ वा प्रि—बोर्ड परीक्षा संचालन गर्ने, कक्षा ५ र ८ का पालिकास्तरका परीक्षाको नतिजालाई समेत विश्लेषण गरी सिकाइ सुधारका लागि योजना बनाउनु आवश्यक छ ।

नतिजा सुधारका लागि परम्परागत कक्षाशिक्षण शैली परिवर्तन गर्नु आवश्यक छ । कक्षाशिक्षणमा विद्यार्थी सक्रियता बढाउने खालका अन्तरक्रियात्मक, खोज तथा प्रयोगात्मक कार्यहरू गराउने, परियोजना कार्यहरू गराउने, कक्षामा प्रस्तुतिकरण गर्न लगाउने, सम्पूर्ण विद्यार्थीले कार्य सम्पन्न गरेको र सिकाइ हासिल गरेको सुनिश्चित गर्ने, खुला प्रश्नहरू सोध्दै विषयवस्तुको गहिराइमा पुग्ने र समस्या समाधान गर्ने, कमजोर विद्यार्थीलाई इच वन टीच वन अर्थात् पारस्परिक सिकाइ विधिको पालना गर्नु, सहपाठी सिकाइ तरिका अपनाउने गर्नु आवश्यक छ । कक्षाशिक्षणमा डिजिटल प्रविधिको प्रयोग बढाई सिकाइ सरल र प्रभावकारी बनाउनु आवश्यक छ ।

मुद्दा २: अभिभावकको असन्तुष्टि
सामुदायिक विद्यालयहरूमा अभिभावक र शिक्षकहरूका विच आरोपप्रत्यारोपको अवस्था छ । अभिभावकहरू विद्यालयको नतिजा, ब्यवस्थापन, शिक्षकहरूको जवाफदेहिता, र शिक्षक—अभिभावक विच सम्बन्ध राम्रो नभएको गुनासो गर्दछन् । आफ्ना बालबालिकालाई नियन्त्रण गर्न नसकेको, अनुशासनहीन बनाएको, गृहकार्य कम दिने गरेको, सानो कक्षादेखि नै पढ्नलेख्न सक्ने नबनाएको, अंग्रेजी बोल्न नसक्ने, र नतीजा कमजोर भएकोप्रति अभिभावकहरूले असन्तुष्टि ब्यक्त गर्दछन् ।

अभिभावकको असन्तुष्टि बढ्नुको मुख्य कारण सञ्चारको कमी हुनु पनि हो । अभिभावकलाई पाठ्यक्रममा भएको ब्यवस्था, परीक्षा पद्धति, विद्यार्थीका ब्यवहार, उनीहरूको सिकाइ प्रगति, उपस्थिति, कक्षाकार्य तथा अतिरिक्त क्रियाकलापमा सहभागिताको अवस्थाका बारेमा जानकारी गराइएको हुदैन । वर्षको अन्तिममा दिइएको नतिजाका बारेमा अभिभावकहरू अचम्मित हुने गरेका छन् ।

नतिजाका साथै विद्यालय ब्यवस्थापन समिति र प्रधानाध्यापकका राजनीतिक गतिविधिप्रति पनि अभिभावकहरू चिन्ता ब्यक्त गर्दछन् । ब्यवस्थापकीय पक्षमा सहभागिता वा जानकार हुन नसकेका प्रति अभिभावकहरूको गुनासो छ । उनीहरूले छोराछोरीलाई अर्को विद्यालयमा भर्ना गराउने विकल्प रोज्ने गर्दछन् । सामान्यतया सामुदायिक विद्यालयको शिक्षा निःशुल्क हुने बुझाइ छ र सामुदायिक विद्यालयले लिने केही शुल्कहरूप्रति अभिभावकहरूको गुनासो छ । दिवा खाजा, विद्यालय पोशाक, र विद्यार्थी सहायताका सम्बन्धमा अभिभावकहरू सन्तुष्ट छैनन् ।

कतिपय अभिभावकहरूले विद्यालयले आफ्ना बालबालिकालाई साँझसम्म हेरिदेओस् भन्ने चाहन्छन् । तर सामुदायिक विद्यालयमा शिक्षकहरू चार बजेको घण्टी बज्नासाथ विद्यालय छाडिहाल्ने र विद्यार्थीका बारेमा चासो नराख्ने गरेको बताउँछन् । शिक्षकहरू विद्यार्थी नतिजा, ब्यवहार, र सुखदुःखप्रति जवाफदेही नभएको भन्दै अभिभावकहरूले शिक्षकका दोष देखाउँछन् भने शिक्षकहरूले अभिभावकको चासो विद्यालय र आफ्नै छोराछोरीप्रति नभएको गुनासो गर्छन् । एउटा अभिभावक सामुदायिक विद्यालयमा पढ्ने छोरीको ड्रेस, कापी किताब, सरसफाइ, खाजा, र गृहकार्यप्रति चासो नराख्ने तर संस्थागत विद्यालयमा पढ्ने छोराका यी सबै पक्षमा ध्यान पु¥याउने गरेको बताउँछन् ।

अभिभावकहरूको आकर्षण शहर र नजिकको संस्थागत विद्यालयतिर गएको छ । ग्रामीण वस्तीमा अन्य विविध समस्या देखाउँदै शहर पस्ने र मुख्यगरी गुणस्तरीय शिक्षा, स्वास्थ्य लगायतका सुविधाका लागि शहरमुखी बसाइ बढेको कारण ग्रामीण वस्तीका विद्यालयहरू न्यून विद्यार्थी संख्याका कारण मर्जर हुने वा बन्द हुने अवस्थामा पुगेका छन् । शहरमा बसाइ जानेहरूको रोजाइमा संस्थागत विद्यालयहरू परेका छन् ।

सामुदायिक विद्यालयमा अभिभावकको सन्तुष्टि बढाई भर्ना तथा टिकाउ दर बढाउनका लागि ठोस कार्य गर्नु अपरिहार्य भएको छ । यसका लागि विद्यार्थीको नतिजास्तर बढाउने र विद्यालयको सम्पूर्ण कार्यक्षमता विकास गर्नुपर्ने देखिन्छ ।

नतिजा सुधारका लागि निरन्तर मूल्याङ्कन, पुनःशिक्षण, सुधारात्मक शिक्षण, विद्यार्थी अभिभावक परामर्श, विद्यालयका असल अभ्यासका बारेमा अभिभावक अभिमुखीकरण जस्ता उपाय गर्न सकिन्छ । त्यसैगरी नतिजाका आधारमा ब्यक्तिगत परामर्श तथा थप सहयोग प्रदान गर्ने, विद्यालयका सबल पक्षका बारेमा अभिभावकलाई जानकारी गराउने, निजी विद्यालयका असल अभ्यास जस्तै अंग्रेजी माध्यम, अनुशासन, प्रिन्सिपल, शिक्षक र विद्यार्थीको लगनशीलता, विद्यार्थी ब्यवहारको अवलोकन र सुधारात्मक कार्य, अभिभावकसँग सम्बन्ध, विद्यालय वातावरण जस्ता पक्षको अनुशरण गर्ने, आकर्षक विद्यालय पोशाक, स्वस्थ तथा पौष्टिक खाना पाउने क्यान्टिनको ब्यवस्था, दिवा खाजामा सुधार गर्नु आवश्यक छ ।

अहिलेको समय अंग्रेजी भाषा र डिजिटल प्रविधिको अनिवार्य प्रयोग हो । त्यसकारण अंग्रेजी माध्यममा शिक्षणका लागि शिक्षक तयारीमा विशेष ध्यान जानुपर्ने छ । त्यसैगरी शिक्षक जवाफदेहिता बढाउनका लागि अभिभावक सन्तुष्टि सर्भेक्षण गर्ने र सुधारात्मक सुझावको पालना गर्ने, अभिभावककको सहभागिताका लागि फोनमार्फत सम्पर्क गर्ने, विद्यालयले सामाजिक कार्य सञ्चालन गर्ने कार्य गर्नु आवश्यक छ ।

त्यसैगरी विद्यालयका समितिहरूको गठन, वार्षिकोत्सव जस्ता विभिन्न समारोह सञ्चालनमा अभिभावक र विद्यार्थीको सहभागिता र भूमिका बढाउनु आवश्यक छ । अभिभावक शिक्षा तथा उत्प्रेरणात्मक कार्यक्रम निरन्तर सञ्चालन गर्नु आवश्यक छ ।

यो कार्यक्रमका क्रममा अभिभावनमार्फत उनीहरूको जिम्मेवारी महशूस गराउने र अन्तरक्रियात्मक कार्यक्रम गरी उनीहरूका धारणा अवगत हुने र सम्भावित असमझदारी हट्छ । अभिभावकको असन्तुष्टि कम गर्दै विद्यालयप्रति चासो बढाउनका लागि थप निम्न कार्य प्रभावकारी हुन्छन् ।

1. विद्यालयको भौतिक तथा गुणस्तर सुधारका लागि विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सल्लाहकार समिति, शिक्षक, अभिभावक, बुद्धिजिवी, शिक्षा कार्य गर्ने संघसंस्था र सरोकारवाला सबैको सहभागितामा विद्यालय सुधार कार्यशाला आयोजना गरी दीर्घकालीन रणनीति तयार गर्ने ।

2. प्रत्येक ६ महिनामा अभिभावक सन्तुष्टि सर्भेक्षण गरी प्राप्त पृष्टपोषण विश्लेषण र कार्यान्वयन गर्ने
3. विद्यालयको वार्षिकोत्सवमा अभिभावक सम्मान गर्ने ।
4.आमा औंशी, बाबुको मुख हेर्ने दिन र अन्य विशेष अवसरमा अभिभावकलाई विद्यालयमा विद्यार्थीबाट सेवा सम्मान गर्ने ।
5.ज्येष्ठ नागरिक सम्मान, बृद्धाश्रममा सेवा, सामाजिक सचेतनामूलक प्रचार सामग्री प्रदर्शनी र अभियान, वार्षिकोत्सवमा अभिभावकविच प्रतिस्पर्धात्मक खेल आयोजना गर्ने ।
6. अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने ।
7. शैक्षिक भ्रमण, असल विद्यालय अवलोकन भ्रमण जस्ता कार्यमा अभिभावकको सहभागिता गराउने ।
8. विद्यार्थीको आवश्यकता अनुसार सुधारात्मक कार्य गर्ने । जस्तै राम्रा विद्यार्थीका लागि थप सन्दर्भ वा पाठ्यसामग्रीसहित अभ्यास गराउने र कमजोरका लागि परीक्षाकेन्द्रित विधिअनुसार परीक्षा लक्षित अभ्यास गराउने ।
9.विद्यार्थी ब्यवहार, नतिजा प्रगतिको जानकारी अभिभावकलाई गराउने ।

मुद्दा ३: पूर्वाधार र आई.सि.टी.
अहिले विद्यालय भवनहरू आरसिसी गरी निर्माण गर्ने क्रम बढेको छ । तथापि कक्षाकोठाको संख्या र आकार सन्तोषजनक छैन । त्यसैगरी कक्षाकोठासँगै फर्निचर, पुस्तक कुनो दराज, शैक्षिक सामग्री भण्डारण तथा सजावट, खेल मैदान, आइ. सि. टि. र विज्ञान प्रयोगशालाहरू र आवश्यक संख्या र गुणस्तरको अभाव छ । कतिपय विद्यालयमा विद्युत आपूर्ति छैन ।

विभिन्न समयमा शिक्षा कार्यालय वा स्थानीय सरकारबाट प्राप्त कम्प्युटर र डिजिटल बोर्डहरू बिग्रेर थन्किएका छन् । प्रधानाध्यापक र लेखापालका कम्प्युटर सञ्चालनमा छन् । आर्थिक प्रशासनिक कार्यहरू डिजिटाइज्ड गरिएका छैनन् । अझैपनि कतिपय कागजपत्र विद्यालयमा छैनन् । कुनै अभिलेख आवश्यक पर्दा प्रधानाध्यापकले अभिलेखभन्दा विश्वासका भरमा कागज बनाउने पनि गरेका छन् ।

शहर तथा वस्ती भएका ठाउँमा विद्यालयहरू साँघुरो क्षेत्रमा बनाइएका छन् । शौचालय र खानेपानीको उचित ब्यवस्था छैन । खेल सामग्री छैन । अचेल चलेका विभिन्न प्रतियोगितामा निश्चित विद्यार्थीको वर्चश्व छ भने नयाँ खेलाडी जन्माउने वातावरण बनेको छैन ।

अधिकांश विद्यालयहरूमा इन्टरनेट सुविधा थपिएका छन् तर विद्युतको अनियमितता र डिजिटल सिपको अभावका कारण इन्टरनेटको उपयोग फेसबुक हेर्ने, टिकटक बनाउने र मनोरञ्जनका लागि मात्र उपयोग भएको छ । उपलब्ध भौतिक सुविधा र आइ. सि. टि. स्रोत शैक्षिक कार्यका लागि उपयोग भएको छैन । खुला अनलाइन स्रोतकोखोजी गर्ने र उपयोग गर्ने चलन चलेको छैन ।
क्रमशः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?