© 2026
आज असार २४ । विगतका वर्षमा यति बेला देशभर ६० प्रतिशत बढी खेत रोपाई भइसक्थ्यो । अफसोस यो वर्ष खडेरीका कारण बल्लबल्ल ३२ प्रतिशत रोपाई भएको छ ।
मौसमविद्हरूले यो वर्ष एल निनोको प्रभावका कारण पानी कम पर्ने पूर्वानुमान गरेका थिए । जसका कारण विगतका बर्षको तुलनामा यो वर्ष ३० प्रतिशत पानी पनि परेको छैन् । असारमा रोपाईको माचो हुनुपर्नेमा किसानको खेतमा अझै पनि धुलो उडेको छ । पानीको अभावमा रोपाई प्रभावित भएको छ । खासगरी तराईका किसान बढी प्रभावित भएका छन् ।
सिंचाईको अभावमा खेत बाँझै हुने हो कि भन्ने किसानमा ठूलो चिन्ता छ । मौसमबीदहरूले भनेजस्तै खडेरी एउटा प्राकृतिक विपत्ती नै हो । जसले विना कुनै असर आफ्नो प्रभाव देखाउँछ । पछिल्लोसमय खडेरी बिस्तारै प्राकृतिक प्रकोप बन्दै गएको छ । मौसम वैज्ञानिकहरूले वर्षाको बेलामा पनि पानी परेन भने त्यसलाई मौसमी खडेरी भनिन्छ । खडेरी पृथ्वीको सतह र उपसतहमा पानीको आपूर्तिमा भएको कमीलाई जनाउँछ । तालतलैया, भूमिगत पानी लगायतको कमीका आधारमा यसको आँकलन गरिन्छ ।
खडेरीलाई जुनसुकै नाम दिए पनि यो जलचक्रलाई प्रभावित पार्ने कारक तत्व हो । जलचक्रका कारण पारिस्थितिक पद्धति प्रभावित हुन्छ । यसले जल र स्थलमा अनेकौं समस्या निम्त्याउँछ । पछिल्लोसमय बढ्दो वन विनाश, विश्वव्यापी तापक्रममा वृद्धि, अत्यधिक हरित ग्याँस उत्सर्जन आदि जलवायु परिवर्तनका कारण हुन् ।
नेपालले विश्व उत्सर्जनको ०.०२५ प्रतिशत मात्र हरितगृह ग्याँस उत्सर्जन गर्छ, तर पनि नेपालको तापक्रम वार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले वृद्धि भइरहेको अनुमान गरिएको छ । जलवायु परिवर्तनका कारण नेपालमा अनावृष्टि, अतिवृष्टि, खण्ड बृष्टि, समयमा पानी नपर्ने, वर्षाको दर र गतिमा परिवर्तन, पानी पर्ने दिनमा कमी आदि भैरहेको छ ।
जसका कारण कृषि उत्पादनमा कमी, खानेपानीको हाहाकार, जैविक विविधतामा ह्रास आदि असरहरू नेपालमा देखापर्दै गएको छ । जलवायु परिवर्तनकै कारण खडेरी बढिरहेको कुरामा दुई मत छैन । जलवायु परिवर्तन एउटा प्राकृतिक घटना हो ।
यो निरन्तर परिवर्तन भइराख्ने चक्र हो । यसलाई हामीले रोकेर राकिन्न । तर, जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न भने सकिन्छ । नेपालको ध्यान अव त्यतातर्फ जानु जरुरी छ ।
नेपालले कृषि प्रधान देश हुनुको गर्ब गर्दै आएको छ । अव यो गर्ब र साख एकैसाथ बचाउने हो भने जलबायु परिवर्तनको प्रभावबाट बच्नैपर्दछ । नेपालका अधिकांश जनता कृषि क्षेत्रमा आश्रित छन् । कृषिलाई दिगो बनाउन र भारतबाट हुने धान चामलको आयातलाई रोक्न कृषियोग्य जमिन बाँझो हुनुबाट बचाउनु जरुरी छ । त्यसका लागि सवै क्षेत्रमा सिंचाईको व्यवस्था गर्नेतर्फ सरकारको ध्यान जाओस् ।
अर्कोतर्फ खडेरीबाट उत्पन्न खेती प्रणालीको चक्रलाई समाधान गर्न मौसम अनुकूलन कार्ययोजना तय गर्नुपर्ने जरुरी छ । कृषि अनुसन्धान परिषद नार्कले पानी कम परेपनि हुने बालीको विकास गरेको छ । अव त्यसतर्फ ध्यान दिनु जरुरी छ ।
भोलीको पुस्तालाई सुरक्षित भविष्य हस्तान्तरण गर्ने हो भने आजैबाट वातावरण संरक्षणको अभियानलाई अघि बढाउनु जरुरी छ । बढ्दो तापक्रम सहन सक्ने बोटबिरुवा तथा बालीनालीको नश्ल तयार गर्नेतर्फ अव नार्कको ध्यान जानैपर्दछ ।
सरकारले यो वर्ष खडेरी पर्ने मौसमबीदहरूको चेतावनी दिएपनि पूर्व तयारीमा अहिलेसम्म ध्यान दिएको छैन् । किसानहरूलाई राहत दिनेतर्फ सरकार मूकदर्शक बनेको छ । सिंचाईमा सुविधाका साथै विद्युतमा सहुलियत दिएको भए किसानले केही राहतको अनुभूति गर्नेथिए ।
त्योसंगै रासायनिक मलमा समेत सहुलियत दिने सरकारको नीति हुनुपथ्र्यो तर सरकार रोपाईको बेलामा समेत किसानले मल नपाएको गुनासो गर्दा पनि मौन छ । सरकारले गोदाममा पर्याप्त मल रहेको जनाएपनि किसानले मल नपाउँदा रोपाई गर्न पाएका छैनन् । खै सरकारको ध्यान कता गयो ? सरकार किन मूकदर्शक ?