© 2026
काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारका सबै प्रमुख सूचक घटेका छन् । बजार परिसूचक नेप्से २६.२९ अङ्क (०.९९ प्रतिशत) ले घटेर २६२७ अङ्कमा कायम भएको छ ।
गत साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेप्से ८.३० अङ्कले घटेको थियो । सोमबार दिनभर बजार रातो अङ्कमै रह्यो ।
आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ३ अर्ब ५५ करोड रुपैयाँमा सीमित भयो । आज ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २३९ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
समूहतर्फ व्यापार समूह सबैभन्दा धेरै ३.१५ प्रतिशतले घटेको छ । दुई कम्पनी मात्र रहेको यस समूहमा पुँजीकरणका आधारमा सबैभन्दा ठुलो कम्पनी विशाल बजारको सेयर मूल्य ३.५० प्रतिशतले घटेपछि समग्र समूह प्रभावित भएको हो ।
त्यस्तै बैङ्किङ १.०६ प्रतिशत, विकास बैङ्क ०.३० प्रतिशत, फाइनान्स १.२४ प्रतिशत, होटल तथा पर्यटन ०.७८ प्रतिशत, हाइड्रोपावर ०.९८ प्रतिशत, लगानी ०.७२ प्रतिशत, जीवन बीमा ०.६९ प्रतिशत, उत्पादन तथा प्रशोधन १.१७ प्रतिशत, माइक्रोफाइनान्स ०.८९ प्रतिशत, निर्जीवन बीमा ०.९८ प्रतिशत तथा अन्य समूह ०.५२ प्रतिशतले घटेका छन् ।
हालै सूचीकृत सानीगढ हाइड्रोपावर, कालंगा हाइड्रोपावर र स्नो रिभर फल्सको सेयर मूल्य १५–१५ प्रतिशतले बढेको छ । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ११.५५ प्रतिशत र बाराही हाइड्रोपावरको ४.०२ प्रतिशतले बढेको छ ।
उता, थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १३.७९ प्रतिशतले घटेको छ । अघिल्लो कारोबार दिन १५ प्रतिशतले बढेको नेपाल फाइनान्सको सेयर मूल्य सोमबार ११.६४ प्रतिशतले घटेको छ । त्यस्तै खानीखोला हाइड्रोपावरको ९.७२ प्रतिशत र उपकार लघुवित्तको ६.४५ प्रतिशतले मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा सोमबार सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, आँखुखोला जलविद्युत्, सिटी होटल तथा शिवम् सिमेन्ट सबैभन्दा बढी कारोबार हुने कम्पनीमा परेका छन् ।