Butwal Today

मायादेवी गाउँपालिकाद्वारा ६७ करोडभन्दा बढीको बजेट प्रस्तुत

२२ असार २०८३, सोमबार
अ+
अ-

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६७ करोड १ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको १८औँ गाउँ सभामा उपाध्यक्ष सरस्वती यादवका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादवले बजेट प्रस्तुत गरेका हुन् । त्यसअघि गाउँपालिका अध्यक्ष वलीउद्दिन मुसलमानले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभासमक्ष प्रस्तुत गरेका थिए ।

अध्यक्ष मुसलमानले नीति तथा कार्यक्रम गाउँपालिकाको समग्र विकास, सुशासन र सेवा प्रवाहलाई केन्द्रमा राखेर तयार गरिएको बताए । उनका अनुसार संस्थागत सुशासन तथा व्यवस्थापन, खानेपानी तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, आयुर्वेद, कृषि, पशु सेवा, सहकारी, रोजगार, सुरक्षित वैदेशिक रोजगारी, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, मधेसी, मुस्लिम, लोपोन्मुख तथा आदिवासी समुदायको उत्थान, सामाजिक सुरक्षा, न्यायिक समिति, उद्यम विकास, पूर्वाधार निर्माण, आन्तरिक राजस्व अभिवृद्धि, वित्तीय सुशासन र बेरुजु फर्छ्योटलाई प्राथमिकतामा राखिएको छ ।

गाउँपालिकाको आवश्यकता र जनअपेक्षालाई मध्यनजर गर्दै समुन्नत पालिका निर्माण गर्ने उद्देश्यका साथ नीति तथा कार्यक्रम ल्याइएको अध्यक्ष मुसलमानले बताए ।

प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादवले बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल तथा नागरिक सबैको सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष राधवेन्द्र प्रसाद पाण्डेयले नीति तथा कार्यक्रम कार्यान्वयनको चरणदेखि नै प्राथमिकता निर्धारण गरी योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने सुझाव दिए ।

यस्तै, वडा नं. ३ का अध्यक्ष शैलेन्द्र कुमार यादवले आफ्नो वडाले गर्मी याममा विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेको विषय सञ्चारमाध्यममा आलोचनात्मक रूपमा आएकोप्रति असन्तुष्टि जनाउँदै सञ्चारमाध्यमले सकारात्मक कार्यलाई पनि प्राथमिकताका साथ उजागर गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका उपाध्यक्ष खगप्रसाद चापागाईँले पालिकाले बजेट ढिलो प्रस्तुत गरेको उल्लेख गर्दै अब योजनाबद्ध, पारदर्शी र प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।

गाउँ सभामा प्रस्तुत बजेटमाथि छलफल गरी आगामी आर्थिक वर्षमा पालिकाको विकास, सेवा प्रवाह र पूर्वाधार निर्माणलाई गति दिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?