© २०२३
दाङ, ९ माघ ।
दाङको घोराहीमा जारी उपमेयर छात्रा भलिबल प्रतियोगिता २०७९ सेमिफाइनलमा प्रतिष्पर्धा गर्ने चार टिमको टुंगो लागेको छ । घोराही उपमहानगरपालिकाको आयोजनामा यही माघ ६ गतेदेखि जारी प्रतियोगितामा पद्मोदय पब्लिक नमुना मावि भरतपुर, गोरक्ष रत्ननाथ मावि चौघेरा, बालविकास मावि नयाँ बजार र जयशेर मावि रावतगाउँ गरी चार विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार भएको क्वाटर फाईनल खेलमा बालविकास माविले ज्ञानसिन्धु माविलाई २–१ को सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । बालविकास माविले २५–२२, १५–२५ र २५–२१ को सेटमा हरायो । यसैगरी, गोरक्ष रत्ननाथ मावि चौघेरा र हापुर मावि निघुवारबीचको खेलमा हापुर मावि निघुवारले खेलमा क्वाटर फाईनलमा सहभागी नभए पछि वाकओभरका आधारमा गोरक्ष रत्ननाथ मावि सेमिफाइनलमा प्रवेश गरेको हो ।
जयशेर मावि रावतगाउँ र गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलले सोझो सेटमा हराएको छ । जयशेर माविले २५–१७, २५–१२ को सेटमा हराउँदै सेमिफाइनलमा पुगेको छ । यसअघि आइतबार भएको पहिलो क्वाटरफाइनलमा पद्मोदय माविले महेन्द्र मावि धर्नालाई २–० को सोझो सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरिसकेको थियो । अब फाइनल प्रवेशका लागि मंगलबार पहिलो सेमिफाइनलमा पद्मोदय पब्लिक नमुना मावि भरतपुर र गोरक्ष रत्ननाथ मावि चौघेरा बीच खेल हुनेछ भने दोश्रो सेमिफाइनलमा बालविकास मावि नयाँ बजार र जयशेर मावि रावतगाउँबीच खेल हुने भएको प्रतियोगिता आयोजक समिति संयोजक एवम नगरप्रवक्ता राममणि पाण्डेले जानकारी दिए । प्रतियोगिताको फाईनल खेल माघ ११ गते हुनेछ । प्रतियोगितामा १६ वटा विद्यालयमा अध्ययनरत छात्राले भाग लिएका थिए । प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजारका साथै शील्ड मेडल पाउनेछ ।
उत्कृष्ट हुनेलाई पुरस्कार यही माघ १५ हुने नगर स्थापना दिवसको अवसरमा हस्तान्तरण गरिने घोराही उपमहानगरपालिकाको भनाई छ ।