Butwal Today

जब उदाए लुम्बिनीमा बुद्ध 

१८ असार २०८३, बिहीबार
अ+
अ-

लुम्बिनीको पवित्र र शान्त वनमा आजभन्दा करिब २६०० वर्षअघि एक दिव्य शिशुको जन्म भयो, जसले पछि सम्पूर्ण मानव जातिलाई दुःख, अज्ञान र मोहबाट मुक्ति दिलाउने मार्गदर्शन गर्नुभयो ।

यही शिशु नै शाक्य वंशका राजकुमार सिद्धार्थ गौतम हुनुहुन्थ्यो, जसले पछि बुद्धत्व प्राप्त गरी “बुद्ध” भनेर विश्वविख्यात हुनुभयो । बुद्धको जन्म केवल एक ऐतिहासिक घटना थिएन, त्यसको पृष्ठभूमिमा बोधिसत्त्वको (भविष्यमा बुद्ध बन्ने मार्गमा रहेका व्यक्ति) रूपमा असङ्ख्य जन्मौंजन्मसम्म गाँसिएको साधना र पारमिताहरूको लामो यात्रा थियो ।

आज हामी मानव सभ्यताको इतिहासमा कहिल्यै बिर्सन नसकिने एउटा अद्भुत क्षण सिद्धार्थ गौतमको जन्मसँग सम्बन्धित प्रेरणादायी र अर्थपूर्ण प्रसङ्गहरूको अवलोकन गर्नेछौँ, जसलाई महाकवि अश्वघोषद्वारा रचित काव्य ग्रन्थ बुद्धचरितमा सुन्दर ढङ्गले वर्णन गरिएको छ । यी प्रसङ्गहरूले केवल एक राजकुमारको जन्म कथा मात्र होइन, भविष्यको बुद्धको आगमनसँग जोडिएका गहन आध्यात्मिक सन्देशहरू पनि उजागर गर्दछ ।

बोधिसत्त्वको अन्तिम जन्मको निर्णय:
जब बोधिसत्त्वको अन्तिम जन्म लिने समय नजिक आयो, तब केवल मानव लोकमा मात्र होइन, देवलोकमा समेत विशेष उत्साह र चर्चा सुरु भयो । असङ्ख्य देवताहरूले संसारको अवस्थालाई अवलोकन गर्दै मानव जातिलाई दुःख, अज्ञान र मोहबाट मुक्त गर्ने समय आएको निष्कर्ष निकाले । उनीहरूलाई थाहा थियो कि बोधिसत्त्वले अब आफ्नो अन्तिम मानव जन्म ग्रहण गरी पूर्ण बुद्धत्व प्राप्त गर्नुहुनेछ र सम्पूर्ण प्राणीहरूको कल्याणका लागि धर्मको प्रकाश फैलाउनुहुनेछ ।

बोधिसत्त्वले अन्तिम जन्म लिनुअघि आफ्नो जन्म हुने समय, देश, कुल र मातापिताको सावधानीपूर्वक चयन गर्नुहुन्छ । त्यस अनुसार उहाँले मध्यदेशको कपिलवस्तु राज्य, शाक्य वंश, राजा शुद्धोदन र रानी महामायालाई आफ्नो अन्तिम जन्मका लागि उपयुक्त ठान्नुभयो । राजा शुद्धोदन न्याय प्रिय, उदार र सम्मानित शासक थिए भने रानी महामाया उच्च नैतिक आचरण, करुणा र पवित्र चरित्रले सम्पन्न थिइन् ।

यसरी देवताहरूको अनुमोदन र बोधिसत्त्वको सङ्कल्प अनुसार उहाँको अन्तिम जन्म शाक्य वंशमा हुने निश्चित भयो । यही निर्णयसँगै मानव इतिहासको एउटा महान् अध्याय प्रारम्भ हुने आधार तयार भयो, जसले पछि सिद्धार्थ गौतमको रूपमा जन्म लिएर सम्यकसम्बुद्ध बन्ने र सम्पूर्ण विश्वलाई शान्ति, करुणा तथा प्रज्ञाको मार्ग देखाउनु थियो ।

महामायाको गर्भमा बोधिसत्त्वको प्रवेश: 
त्यस समय कपिलवस्तुमा आषाढ पूर्णिमाको उत्सव चलिरहेको थियो । रानी महामायाले दिनभर उपवास बसेर धार्मिक अनुष्ठान सम्पन्न गर्नुभयो । राति विश्रामका लागि सयनकक्षमा जानुभएपछि उहाँले एक अद्भुत र दिव्य स्वप्न देख्नुभयो । मध्यरातमा चार देवताहरूले उहाँलाई पलङसहित उठाएर हिमालयतर्फ लगे र एउटा विशाल साल वृक्षको छायाँमुनि राखिदिए ।

त्यहाँ दिव्य आभाले जाज्वल्यमान आसन थियो र स्वर्गीय अप्सराहरूको उपस्थिति थियो । अप्सराहरूले रानीलाई दिव्य स्नान गराई सुगन्धित पुष्पले सजाए । वरिपरिका पर्वतहरू चाँदीझैँ चम्किरहेका थिए भने सुनौलो विमानले सम्पूर्ण वातावरणलाई अलौकिक बनाएको थियो । त्यसै विमानभित्र रानी महामायालाई पूर्व दिशातर्फ सिरानी पारेर सुताइयो ।

त्यही बेला नजिकै रहेको सुनको पर्वतबाट एक अद्भुत सेतो हात्ती प्रकट भयो । उसको चाँदीझैँ उज्यालो सुँढमा श्वेत कमलको फूल सुशोभित थियो । केही क्षणसम्म रमणीय रूपमा विचरण गरेपछि त्यो हात्ती चाँदीको पर्वतमा उक्लियो र बिस्तारै रानी महामाया सुतिरहनुभएको विमानतर्फ आयो । विमानमा प्रवेश गरी उसले पलङको तीन पटक श्रद्धापूर्वक परिक्रमा ग¥यो र अन्ततः रानीको दाहिने काखीबाट गर्भमा प्रवेश ग¥यो । बिहान उठेपछि रानी महामायाले आफ्नो विलक्षण स्वप्न राजा शुद्धोधनलाई सुनाउनुभयो ।

राजा आश्चर्यचकित भए र तत्काल ६४ जना विद्वान ब्राह्मणलाई दरबारमा बोलाई सम्मानपूर्वक भोजन गराएर स्वप्नको अर्थ सोध्नुभयो । गहन विचार–विमर्शपछि ब्राह्मणहरूले भविष्यवाणी गरे—“हे महाराज! यो अत्यन्त शुभ संकेत हो । रानीको गर्भबाट जन्मिने बालक असाधारण पुरुष हुनेछ । यदि उनले गृहस्थ जीवन अपनाए भने चक्रवर्ती सम्राट बन्नेछन्, र यदि संसार त्याग गरी आध्यात्मिक मार्ग रोजे भने सम्यक् सम्बुद्ध भएर सम्पूर्ण जगतलाई मार्गदर्शन गर्नेछन् ।

सिद्धार्थको शुभ अवतरण: 
समय बित्दै जाँदा रानी महामायाको गर्भधारणको दसौँ महिना पूरा हुन लाग्यो । उहाँलाई अब सन्तान जन्मिने समय नजिकिएको अनुभूति भयो । त्यसैले उहाँले आफ्नो माइती देवदहतर्फ जान चाहना व्यक्त गर्नुभयो । राजा शुद्धोधनले पनि सहर्ष अनुमति दिनुभयो ।

आजपनि नेपालको तराई क्षेत्रमा सन्तान जन्माउन महिलाहरू माइती जाने परम्परा प्रचलित छ । यसबाट यो सामाजिक परम्परा प्राचीन कालदेखि नै रहेको अनुमान गर्न सकिन्छ । रानी महामायाको यात्राका लागि भव्य तयारी गरियो । सुनौलो पालकी, सेवक–सेविका, सैनिक र दरबारका विशिष्ट व्यक्तिहरूको विशाल लावालस्करसहित यात्रा अघि बढ्यो । देवदहतर्फ जानेक्रममा जब सवारी लुम्बिनीको रमणीय उद्यानमा पुग्यो, त्यहाँको शान्त वातावरण, हरियाली र प्राकृतिक सौन्दर्यले रानीको मन मोहित बनायो ।

केही समय विश्राम गर्ने इच्छा जागेपछि उहाँ पालकीबाट ओर्लनुभयो । त्यही बेला प्रसव वेदनाका प्रारम्भिक संकेत देखापर्न थाले । नजिकै रहेको शाक्यहरूको पवित्र पोखरीमा स्नान गरी रानी केही कदम उत्तरतर्फ बढ्नुभयो । चारैतिर फुलेका सालका वृक्ष, मन्द–मन्द बहने हावा र चराचुरुङ्गीको मधुर स्वरले वातावरणलाई अझ मनमोहक बनाएको थियो । एउटा साल वृक्षको फुलिरहेको हाँगा समातेर उभिएकी रानी महामायाले त्यही पावन स्थलमा पुत्र रत्न प्राप्त गर्नुभयो ।

त्यो दिन वैशाख पूर्णिमाको शुभ दिन थियो । जुन शुभ दिन बोधिसत्व सिद्धार्थ गौतमको जन्म भयो, त्यही दिन अनेकौँ मङ्गलमय घटनाहरू पनि घटित भएका थिए । भविष्यमा उहाँको जीवनयात्रासँग गहिरो सम्बन्ध राख्ने यशोधरा, विश्वासपात्र सारथि छन्न, राजा शुद्धोधनका प्रिय मन्त्री कालउदायी, आजानिय हस्ती, प्रिय अश्व कन्थक तथा महाबोधिवृक्षको समेत उत्पत्ति भएको उल्लेख पाइन्छ । त्यति मात्र होइन, अमूल्य रत्नहरूले भरिएका चार विशाल घैटाहरू पनि प्रकट भएका थिए । यी सबै घटनाहरूलाई भविष्यका बुद्धको आगमनसँग जोडिएका शुभ सङ्केतका रूपमा हेरिएको छ ।

जन्म महोत्सवः
बोधिसत्त्वको जन्मसँगै सम्पूर्ण प्रकृति आनन्दित बनेको वर्णन बुद्धचरितमा पाइन्छ । आकाश र धर्ती अद्भुत प्रकाशले झिलिमिली भए, पृथ्वी कम्पायमान भई, आकाशमार्गबाट पुष्पवृष्टि हुन थाल्यो । देवता र ब्रह्माहरू नवजात बोधिसत्त्वको दर्शन गर्न स्वर्गबाट अवतरित भए । नागराजहरूले शीतल जलधाराले अभिषेक गरी सम्मान प्रकट गरे ।

जन्मलगत्तै बोधिसत्त्वले दसै दिशातर्फ दृष्टि लगाउनुभयो । आफूजस्तै कुनै प्राणी नदेखेपछि उहाँ उत्तर दिशातर्फ सात पाइला अघि बढ्नुभयो । प्रत्येक पाइलासँग कमलका फूल फुलेको वर्णन पाइन्छ । त्यसपछि उहाँले सिंहनाद गर्दै घोषणा गर्नुभयो— “म संसारमा श्रेष्ठ छु, म संसारमा अग्रणी छु, यो मेरो अन्तिम जन्म हो, अब मेरो लागि पुनर्जन्म रहने छैन ।” यी वचनहरूले भविष्यमा उहाँ सम्यकसम्बुद्ध भई सम्पूर्ण मानवजातिलाई मुक्तिको मार्ग देखाउने संकेत दिएका थिए । राजकुमार सिद्धार्थको जन्मसँगै कपिलवस्तु आनन्दमय बन्यो ।

राजदरबारदेखि नगरका गल्लीसम्म उत्सवको माहोल छायो । बाजागाजाको मधुर धुन गुन्जियो, घरघरमा दीप र फूलले सजावट गरियो । राजा शुद्धोधनले प्रजालाई दान बाँड्दै आफ्नो खुसी साट्नुभयो । सम्पूर्ण कपिलवस्तुले नवजात राजकुमारको स्वागतमा उत्सव मनायो, मानौँ एउटा नयाँ युगको सुरुवात भएको थियो ।

नामाकरण संस्कारः
जन्मको पाँचौँ दिन कपिलवस्तुको राजदरबारमा नामकरण समारोह सम्पन्न भयो । विद्वान ब्राह्मणहरूले बालकका शुभ लक्षणहरू हेरेर उनको उज्ज्वल भविष्यको भविष्यवाणी गरे । उनीहरूले यो बालक या त चक्रवर्ती सम्राट बन्नेछ वा संसारलाई ज्ञानको मार्ग देखाउने बुद्ध हुनेछ भने । त्यसै समयमा दरबारमा महान् तपस्वी कालदेवल (असित) ऋषिको आगमन भयो ।

ऋषि कालदेवल एकपल्ट अत्यन्त प्रसन्न भए भने अर्कोपल्ट गहिरो उदासीमा डुबेको देखिन्थे । उनको अनुहारमा देखिएको यो दोहोरो भावले सबैलाई आश्चर्यमा पारेपछि राजा शुद्धोधनले विनम्रतापूर्वक सोधे—“हे महर्षि, तपाईं कहिले खुसी त कहिले दुःखी देखिनुहुन्छ, के हाम्रो पुत्रलाई कुनै संकट आउने त छैन ?” त्यसपछि ऋषिले स्पष्ट पार्दै भने कि बालकलाई कुनै संकट आउने छैन, बरु उनी अवश्य नै बुद्ध बन्नेछन् भन्ने ज्ञानले आफू अत्यन्तै खुसी भएको हो । तर, साथसाथै आफू त्यस समयसम्म जीवित नरहने भएकाले भविष्यमा प्रकट हुने महापुरुष बुद्धको दर्शन गर्न नपाउने सोचले आफू दुःखी भएको कुरा पनि उनले प्रकट गरे ।

अन्ततः उनको नाम ‘सिद्धार्थ’ राखियो—एक यस्तो नाम, जसले भविष्यमा सम्पूर्ण मानवजातिको इतिहासलाई नयाँ दिशा दिने थियो । राजकुमार सिद्धार्थको जन्मले कपिलवस्तुमा खुसीको लहर छाएको थियो । तर, यो खुसी धेरै दिन टिक्न सकेन ।

रानी महामायाको महा प्रस्थानः 
पुत्र जन्मिएको सातौँ दिनमै रानी महामाया यस नश्वर संसारबाट दिव्य प्रस्थान गर्नुभयो । नवजात शिशु सिद्धार्थले मातृस्नेहको मधुर स्पर्श राम्ररी अनुभव गर्न नपाउँदै गहिरो मातृवियोगको पीडा सहनुप¥यो । त्यस कठिन र संवेदनशील क्षणमा रानी महामायाकी सहोदर बहिनी तथा राजा शुद्धोधनकी द्वितीय पत्नी महाप्रजापती गौतमीले सिद्धार्थको पालनपोषणको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा लिनुभयो ।

उहाँले केवल अभिभावकको दायित्व मात्र पूरा गर्नुभएन, मातृसमान ममता, स्नेह र करुणाले बालक सिद्धार्थलाई हुर्काउनुभयो । यसरी महाप्रजापती गौतमी सिद्धार्थका लागि सानीआमा मात्र होइन, वात्सल्य र मातृत्वको प्रतिमूर्तिसरह आमाकै स्वरूप बन्न पुग्नुभयो ।

 शान्तिको अन्तिम सन्देशः
बोधिसत्त्वको गर्भाधानदेखि जन्म र जन्मपछिका घटनाहरू केवल एउटा राजकुमारको जीवनकथा मात्र होइनन्, मानव इतिहासमा नयाँ युगको प्रारम्भका संकेत थिए । रानी महामायाको दिव्य स्वप्न, लुम्बिनीमा भएको सिद्धार्थको जन्म, कपिलवस्तुमा मनाइएको जन्मोत्सव तथा मायादेवीको अकाल निधनजस्ता घटनाहरूले बुद्धको जीवनलाई अझ विशिष्ट बनाएका छन् ।

पछि यही राजकुमार सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरी सम्पूर्ण मानवजातिलाई करुणा, मैत्री, अहिंसा र प्रज्ञाको मार्ग देखाए । त्यसैले बुद्धको जन्म कथा केवल ऐतिहासिक घटना मात्र नभई मानव कल्याण र जागरणको प्रेरणादायी अध्याय पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?