Butwal Today

कृषकका लागि कृषि मजदुरको अभाव

१७ असार २०८३, बुधबार
अ+
अ-

पाल्पा । खाद्यान्न बालीअन्तर्गत यहाँको प्रमुख बाली मकै हो भने दोस्रो प्रमुख बाली धान हो । दुई तीन दशक अघिसम्म खाद्यान्न निर्यात गर्ने पाल्पा जिल्ला अहिले भने खाद्यान्न आयातमा निर्भर हुन थालेको छ ।

खेतीका लागि पर्याप्त जमिन हुँदाहुँदै पनि पछिल्लो समय कृषि मजदुरको अभावका कारण खाद्यान्न उत्पादनमा कमी आउँदै गएको र आयातमा निर्भरता बढेको यहाँका पुराना कृषकहरू बताउँछन् ।

रैनादेवी छहरा गाउँपालिका सत्यवतीका पुराना कृषक देवेन्द्र खनालका अनुसार, पहिले २० मुरी धान फल्ने खेतमा अहिले वनमारा र पातीले कब्जा जमाएका छन् । “धान रोप्ने समयमा खेताला पाउन छाडेपछि जमिन बाझिन थालेको हो,” उनले भने ।

उनका अनुसार आफ्नो मात्र होइन, गाउँभरिका करिब चार सय रोपनी खेत बाझिएर जङ्गलमा परिणत हुँदै गएका छन् । “पहिले गाउँमा बस्ती बाक्लो थियो । अहिले बस्ती पातलिँदै गएको छ । खेतबारी बाझो राख्नुपर्ने अवस्था आएको छ,” स्थानीय इन्द्रबहादुर चिदीले बताए ।

माथागढी गाउँपालिका गोठादीका शेरबहादुर दर्लामी गाउँमै सबैभन्दा बढी खेत भएका कृषकमध्ये पर्छन् । आफ्नै मेहनतले सय मुरी धान भित्र्याउने गरेका दर्लामी भन्छन्, “अब बुढेसकालले च्याप्यो । छोरा बाहिर काममा व्यस्त छन्, छोरीहरू विवाह भएर गए । अहिले तीन चार हलको मेलो मात्रै खेती गरेको छु, बाँकी खेत बाझो छ ।”

उनले रोपाइँका बेला कामदार र खेताला पाउन निकै कठिन हुने गरेको बताए । “बाबुबाजेले छाडेको पैतृक सम्पत्ति बाझिँदै गएको देख्दा दुःख लाग्छ,” उनले भने ।

माथागढी गाउँपालिका बहादुरपुरका रनबहादुर ढेंगाका अनुसार पहिले गाउँ बस्ती रमाइलो र चहलपहलयुक्त थियो । बिहानैदेखि खेतमा बिउ काढ्ने र दिउँसो ५०/६० जना मिलेर रोपाइँ गर्ने चलन थियो । “अहिले ती दिनहरू कथा जस्तै भएका छन् । गाउँमा नयाँ पुस्ताका युवाहरू नै छैनन्,” उनले भने ।

उनका अनुसार खेतीयोग्य जमिनको केही भाग आवासीय क्षेत्रमा परिणत भएको छ भने बाँकी जमिनमा पनि खेताला अभावले खेती गर्न समस्या भएको छ । आफ्नै १५ रोपनी जमिन बाझिएपछि उनी पनि खाद्यान्नमा परनिर्भर बन्दै गएको बताउँछन् ।

पूर्व खोला गाउँपालिका रास्केकी डिलबहादुर सारूले आफ्ना सन्तानको उज्यालो भविष्यका लागि तानसेनमा बसोबास गर्न थालेको १४ वर्ष भएको बताइन् । खेती गरेर खानुभन्दा किनेर खान सस्तो पर्ने भएपछि उनले १० रोपनी खेत र ५ रोपनी बारी बाझै राखेको बताइन् ।

उनले गाउँमा पाखुरा साटासाट गर्ने ‘अरिमो परिमो’ को चलन हराउँदै गएको बताइन् । “पहिले गोरु पालेर खेतबारी जोत्नुपर्ने चलन थियो । अहिले त्यो पनि हरायो । परिवार छुट्टिँदै जाँदा सबै लाखापाखा लागे, भएका जग्गा पनि बाझो छन्,” उनले भनिन् ।

पूर्व खोला गाउँपालिकाकी बसन्ती थापाका अनुसार खेतीपाती अहिले महँगो र खर्चिलो बन्दै गएको छ । “गोरुको विकल्पमा ट्र्याक्टर आएको छ । अहिले प्रति घण्टा ६ हजारदेखि ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ । खेताला पाँच सय रुपैयाँ, आली लगाउनेलाई एक हजार रुपैयाँ, खाजामा मासु, रक्सी र भातको खर्च छुट्टै हुन्छ,” उनले भनिन् ।

उनका अनुसार रोपाइँ मात्र होइन, गोडमेल, बाली काट्ने र चुट्ने काममा पनि उत्तिकै खर्च लाग्ने भएकाले खेती गर्नुभन्दा बजारबाट अन्न किन्न सस्तो पर्न थालेको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार दुई दशकअघि पाल्पामा करिब १० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिले त्यो घटेर ७ हजार ३ सय ९५ हेक्टरमा सीमित भएको छ ।

पुराना कृषि प्राविधिक सूर्य गौतमका अनुसार कृषिमा यान्त्रिकीकरणतर्फ तीनै तहका सरकारले पहल गरे पनि सिँचाइजस्तो आधारभूत पूर्वाधारमा पर्याप्त ध्यान नदिँदा अधिकांश खेतीयोग्य जमिन अझै आकासे पानीमै निर्भर छ । त्यसमा जलवायु परिवर्तनको असर थपिँदा खेतीयोग्य जमिन घट्दै गएको उनले बताए ।

स्थानीय तहले बसाइसराइ रोक्ने र कृषि क्षेत्रलाई पुनर्जीवित गर्ने योजना नल्याए गाउँहरू रित्तिँदै जाने खतरा रहेको बगनासकाली गाउँपालिकाका पूर्व जनप्रतिनिधि गणेश बस्यालले बताए ।

“सहर भरिँदै गएका छन् । गाउँ सुनसान हुँदै छन् । गाउँमा बस्नेहरूले पनि विदेशी अन्नमा निर्भर हुन थालेको धेरै भइसक्यो,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?